प्रतिनिधि सभा बैठकमा बिहीबार नेपाली कांग्रेस र नेकपा एमालेका सांसदबीच झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो।
सांसदहरूबीच धकेलाधकेल भए पनि ठूलो दुर्घटना भएन।
कांग्रेसको रोस्टम घेराउ र प्रतिपक्षी दलहरूको विरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अघि बढाउन खोजेका थिए।
सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त दुई वटा पत्र पढेपछि गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए।
सभामुखले गृहमन्त्रीलाई समय दिएपछि कांग्रेस सांसदहरू गृहमन्त्रीलाई रोस्टम जानबाट रोक्ने रणनीतिमा लागे।
सभामुखले समय दिएपछि पहिलो लहरमा बसेका गृहमन्त्री लामिछानेलाई रोस्टममा जाने बाटो दिन उपसभामुख इन्दिरा रानामगर आफू बसेको सिटबाट उठिन्।
उनी सिटबाट उठेपछि उक्त ठाउँमा कांग्रेसका सांसद धनराज गुरूङ उभिए।
गुरूङ उभिएपछि नेकपा एमाले दलका नेता केपी शर्मा ओलीले गुरूङलाई सत्तापक्षको कुर्सी भएतर्फ नआउन भने।
गुरूङ भने त्यतिबेला नारा नै लगाइरहेका थिए।
सांसद गुरूङ र एमाले दलका नेता ओलीबीच भएको बहसको उपसभामुख रानामगर प्रत्यक्षदर्शी हुन्।
रानाका अनुसार कांग्रेस सांसद गुरूङ उपसभामुखको सिटमा उभिएपछि ओलीले प्रतिवाद गरेका थिए।
‘सभामुखले समय दिएपछि मैले गृहमन्त्रीलाई बाटो छाडिदिनुपर्यो। म सधैं उभिएर बाटो छाड्छु। मेरो सिटमा धनराज गुरूङ पस्नुभयो,’ रानाले सेतोपाटीसँग भनिन्, ‘केपी ओलीले उहाँहरूलाई उता जाऊ भन्नुभयो।’
उपसभामुख रानाले कांग्रेसले विरोधका लागि वेल घेराउ गर्नुपर्नेमा मन्त्री र सत्तापक्षतर्फ घेराउ गरेको बताइन्।
‘विरोधका लागि वेल पो घेर्ने त। यता मेरो बस्ने ठाउँमा पस्ने होइन नि!,’ रानाले भनिन्, ‘महिला भन्दैमा त्यस्तो गर्न मिलेन नि। वेल घेराउको सीमा हुन्छ।’
उनले बिहानदेखि दलहरूलाई मिलाउने प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्न खोजिएको बताइन्।
यी पनि:
कांग्रेसका धनराजले औंला उठाएर के भनेका थिए संसदमा?
सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएपछि प्रतिनिधि सभामा कांग्रेस-एमाले सांसदबीच धकेलाधकेल (भिडिओ/तस्बिरहरू)
धनराज गुरूङले उपसभामुखको आसनमा उभिएर बाटो छेके: ठाकुर गैरे