प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका छन्।
शनिबार दिउँसो २ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीसँग सभामुख घिमिरेल संयुक्त रूपमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ।
समय मिलेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग पनि आजै छलफल गर्ने तयारी गरेका छन्।
सत्तापक्ष र प्रतपक्ष दलहरूबीच सहमति नजुट्दा शुक्रबार बस्ने भनिएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित भएको थियो।
त्यसअघिका बैठकहरूमा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले लगातार अवरोध गर्दा सभामुख घिमिरेले लामो समयदेखिका कार्यसूची अगाडि बढाउन सकेका छैनन्।
बिहीबार कांग्रेसको नाराबाजीकै बीचमा कार्यसूची अगाडि बढाउन खोजेपछि संसदमा कांग्रेस र एमालेका सांसदहरूबीच धकेलाधकेल भएको थियो।
संसदमा मुठभेडतर्फ अग्रसर भएपछि सभामुखले सत्तापक्ष र प्रतिपक्ष दलसँग संवाद गर्न लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डले पनि प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्।
प्रतिनिधि सभाको बैठक भोलि बस्दैछ।