काठमाडौंको नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनमा रहेका विपक्षी दलका नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।
बैठकमा सभापति देउवासहित कांग्रेसका पदाधिकारीहरू र प्रमुख सचेतक रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाही, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायत सहभागी छन्।
बैठक अहिले जारी रहेको कांग्रेस प्रमुख सचेतक लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए।
कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्नुअघि विपक्षी दलहरूसँग छलफल गरेको हो। प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ। राष्ट्रिय सभा बैठक भने आइतबार दिउँसो १ बजे बस्नेछ।
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको शुक्रबारको बैठक स्थगित भएको थियो भने सहमति खोज्ने भन्दै प्रतिनिधि सभाको शुक्रबारको बैठक बस्दै नबसी स्थगित भएको थियो।
शनिबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित सत्तारूढ दलका शीर्ष नेताहरू र प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरूबीच सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरेर जाने सहमति भएको थियो।
राप्रपासहित विपक्षी दलले कांग्रेसले माग गरेको संसदीय समिति गठनमा आफूहरूको समर्थन रहेको शुक्रबारको बैठकमा बताएका थिए।