नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै राजनीतिक दलका सभापतिले आफूमाथि लागेको आरोबारे संसदमा बोल्न नपाउनुलाई उचित मान्न नसकिने बताएका छन्।
दाङमा पत्रकारहरूसँग भेटघाटबारे सम्बोधन गर्दै महासचिव पोखरेलले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिने नेपाली काँग्रेसको अडान अनुचित भएको बताएका हुन्।
‘तथ्य प्रमाण छ भने बोलेकै आधारमा आँफु डिफेन्सिप हुने आधार हुँदैन,’ पोखरेलले भने ‘ जुन कुराका लागि हामीले यत्रो वलिदानी गरेका थियौं त्यो बोल्ने अधिकारका लागि हो ।’
जनताले निर्वाचित गरेर राष्ट्रिय दलको मान्यता पाएको दलका सभापतिले आफूमाथि लागेका आरोपबारे संसदमा उभिएर बोल्छु भनिरहँदा कांग्रेसले रोक्नु उचित नभएको महासचिव पोखरेलले बताए ।
महासचिव पोखरेलले गल्ती गरेको जो कोही मान्छेको लागि एमाले सहयोगी र साक्षी नबन्ने बताए। तर कसैले लगाएको आरोपकै आधारमा मानिसलाई दोषी करार गरिनु उचित नहुने बताए ।
सहकारी घोटाला प्रकरण बारे राज्यका निकायले छानविन गरिहेको भन्दै महासचिव पोखरेलले त्यो प्रक्रियामा त्रुटी देखिएको खण्डमा बिकल्प खोज्नु उचित हुने भएपनि छानबिनको प्रक्रिया नटुंगिँदै अविश्वास गर्ने कार्य उचित मान्न नसकिने बताए।
‘विगतमा एमालले सरकारले गरेको छानबिननको प्रक्रियामा त्रुटि देखाएरै संवैधानिका आयोगको माग गरेको थियो,’ महासचिव पोखरेलले भने, ‘ नेपाली कांग्रेसले पनि छानबिनका क्रममा के के त्रुटी भयो भनेर देखाउन सक्नुपर्थ्यो।'
सहकारीमा समस्या रहेको भन्दै छानबिन पछि बदमासी गरेकाहरुलाई कारबाही गर्न जरूरी रहेकोमा जोड दिए ।
फरक प्रसंगमा नेता पोखरेलले आउने बजेटमा दाङको टरिगाउँ एयरपोर्टको विस्तारका लागि आउने बजेटमा उचित व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे।