सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गर्ने विषयमा प्रधानमन्त्रीसहित सत्ता पक्ष र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति भए पनि समितिको क्षेत्राधिकारमा कुरा मिल्न सकेको छैन।
आइतबार बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको थियो तर त्यतिबेला बस्न नसकेपछि दिउँसो २ बजेका लागि बैठक सारियो।
यो समयमा पनि बैठक नबसेपछि आइतबार अपराह्न साढे ४ बजेका लागि बैठक सारिएको छ।
सहकारी प्रकरणमा कांग्रेससहित विपक्षी दलहरूले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन्। सिंहदरबारमा सत्ता र प्रतिपक्षी दलका प्रतिनिधि रहेको कार्यदल बैठक पनि बसिरहेको छ।
यो कार्यदलले संसदीय समितिको क्षेत्राधिकारबारे सहमति जुटाउन नसक्दा प्रतिनिधि सभा बैठक प्रभावित बनेको हो।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले समितिको क्षेत्राधिकारमा यो विषय समावेश गरिनुपर्ने अडान राखेको छ भने सत्तापक्ष व्यक्ति तोक्न नहुने अडानमा छ।