उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले बनाएको छानबिन समितिले आफ्नो नाम राखेकोबारे प्रष्ट्याएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले त्यस समितिका सदस्य नेपाली कांग्रेसका वडाध्यक्षका प्रत्यासी रहेको बताएका हुन्।
आफ्नाबारे समाचारहरू आएपछि सहकारी विज्ञ भनिएका दीपकप्रसाद आचार्यबारे आफूले बुझेको बताएका छन्।
‘उहाँ एक सहकारीको अध्यक्ष हुनुहुँदो रहेछ। मलाई आशा छ, उहाँ अध्यक्ष भएको सहकारीले नेपालको प्रचलित ऐन कानुनको पूर्ण पालना गरेको रहेछ। उहाँ सहकारी संघ कास्कीमा कांग्रेस भागबण्डाबाट सञ्चालक समेत हुनुभएको रहेछ,’ उनले भने, ‘उहाँ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षको प्रत्यासी हुन खोज्नुभएको रहेछ। तर पार्टीबाट टिकट प्राप्त गर्न असलफल हुनुभएको रहेछ। उहाँ नेपाली कांग्रेस सम्बद्ध सहकारीको सञ्जालमा आबद्ध हुनुहुँदो रहेछ। यति मैले भन्नै पर्नेभयो।’
उक्त प्रतिवेदनले आफ्नो नाम शंकास्पद ऋणी भनेर राखेको र किन लेख्यो भन्ने विषयमा पनि उनले प्रश्न गरेका छन्। उनले आफ्नो नाम भ्रम सिर्जना गर्ने उद्देश्यले उक्त नाम राखेको बताए।
‘अब प्रतिवेदनले शंकास्पद ऋणी किन लेख्यो, त्यो शंकास्पद ऋणीको बारेमा के बुझ्यो, के बुझ्न प्रयास गरेन र भ्रम सिर्जना गर्ने उद्देश्यले प्रतिवेदनमा राखियो यो त्यो समितले प्रष्ट पार्ला भन्ने मैले विश्वास लिएको छु। प्रतिवेदन भन्छ कर्जा सारियो अनि गोर्खा मिडियामा रकम गयो,’ उनले भने।
यसरी ऋण लिन केकस्ता कागजातहरू पेश भएका थिए भनेर पनि उनले प्रश्न गरेका छन्। उनले छानबिनको प्रक्रियामा समेत प्रश्न गरेका हुन्।
‘यत्रो विषयमा मेरो नाम उल्लेख भएको कर्जामा केके कागज पेश भएको रहेछ त? मेरो नागरिकता रहेछ कि, मैले निवेदन दिएको रहेछु कि, मेरो निवेदन भनेपछि यत्रो विवादको विषयमा यकिन गर्न केके गर्यो त,’ उनले भने, ‘मेरो खाताबाट कुन चेक काटेर गोर्खा मिडियामा जम्मा गरेको हुँ। मेरो दस्तखत कुन कागजसँग मिलाएर चेकको भुक्तानी गरिएको थियो। त्यसको स्पष्टीकरण प्रतिलिपि हेरियो कि हेरिएन। कसैको खाताबाट चेक रकम सार्न सम्भव हुन्छ? यी कुरा नहेरी कसरी कर्जा मैले दुरूपयोग गरेको आशयमा लेखियो।’
उनले छानबिनको तरिकाबारे थप भने,‘छानबिनको तरिका के हो, प्रमाण कसरी शंकलन गरियो, कसरी परीक्षण गरियो र कसरी यकिन गरियो, त्यसैले यो झुटको खेति नगरौं र समस्या समाधान गर्नतर्फ लागौं। सहकारी समस्या समाधान गर्न नेपाली कांग्रेसले के गर्यो? के गरेन सबैलाई थाहा छ।’