नेपाली कांग्रेसको संसदीय दल बैठक सुरू भएको छ।
संघीय संसद नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सोमबार बिहान १० बजेदेखि संसदीय दल बैठक सुरू भएको हो।
यसअघि संसदीय दल नेता शेरबहादुर देउवाको कार्यकक्षमा संसदीय दल कार्यसमिति बैठक बसेको थियो।
प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकअघि कांग्रेस संसदीय दल बैठक बसेको हो।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत ठगी, अपचलन, दुरूपयोग र हिनामिनामा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।
प्रधानमन्त्री र सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार देखिए पनि यसको कार्यक्षेत्रलाई लिएर सत्ता पक्ष र कांग्रेसबीच सहमति हुन सकेको छैन।
कांग्रेसले संसदीय दलमा छलफल गरेर आगामी रणनीति तय गर्न लागेको छ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वास मत लिने तयारी गरेका छन्। सम्भावित कार्यसूचीमा यो पनि समावेश छ।
प्रतिनिधि सभा बैठकअघि कार्यव्यवस्था परामर्श समिति बैठक पनि बस्दैछ।