नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरूको बैठक बोलाएका छन्।
संघीय संसद भवनस्थित देउवाको कार्यकक्षमा सोमबार बैठक बस्दैछ।
अहिले संसद भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दल बैठक बसिरहेको छ। संसदीय दल बैठकलगत्तै विपक्षी दलहरूको बैठक बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए।
कांग्रेसले केही समयदेखि सदनमा रहेका विपक्षी दलहरूसँग छलफल गरी समान धारणा बनाउने कोसिस गरिरहेको छ।
छलफलका लागि कांग्रेसले राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चालगायत दलहरूलाई बोलाइएको छ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।
प्रधानमन्त्री र सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार देखिए पनि यसको कार्यक्षेत्रलाई लिएर सत्ता पक्ष र कांग्रेसबीच सहमति हुन सकेको छैन।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वास मत लिने तयारी गरेका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकअघि कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको हो।