नेकपा (एमाले) बाँके जिल्ला अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन्।
गुरूङले २९१ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन्।
सोमबार बिहान सकिएको मतगणना अनुसार उनका प्रतिस्पर्धी डिल्ली बिसीले १५४ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत भेषराज बस्नेतले जानकारी दिए।
गुरुङ पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् । उनी जिल्लाको पूर्वउपाध्यक्ष हुन्। नेकपा कालमा तीन महिना जिल्ला अध्यक्षसमेत बनेका थिए।
पराजित हुने बिसी शंकर पोखरेल निकट मानिन्छन्। उनी यसअघि उपाध्यक्ष थिए।
उपाध्यक्षमा लुम्बिनी प्रदेश सरकारका समाजिक विकास मन्त्रीसमेत रहेका रत्नबहादुर खत्री निर्वाचित भएका छन् । खत्रीले ३१३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रवीन्द्र लम्सालले १३८ मत प्राप्त गरेका थिए ।
सचिव पदमा बलराम भट्टराई १३९ मत प्राप्त गरी विजयी भए।
सचिव पदमा लडेका खिमप्रशाद भुसालले ११७, भीम ओली ९५ र दत्तप्रसाद आचार्यले ८८ मत प्राप्त गरेका थिए।
महिला उपसचिवमा निर्मला सुनार निर्वाचित भइन्। उनले १९८ मत ल्याउँदा शारदा कुमार रेग्मी विश्वकर्माले १३४ र रचना श्रेष्ठले ११५ मत ल्याइन्।
उपसचिव खुल्ला तर्फ किशोर थापा २६३ मत प्राप्त गरि निर्वाचित भए । अर्का उम्मेदवार दीपककुमार बर्माले १२९ र सोहनलाल यादवले ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत भेषराज बस्नेतले जानकारी दिए।
जेठ ४ गते सुरू भएको जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सम्भव नभएपछि शुक्रबार मतदान भएको थियो।
दिउँसोका लागि तय भएको मतदान बेलुकी ७ बजेदेखि मात्र सुरू भएको थियो। ११ बजेसम्म मतदान सकेर १२ बजेदेखि नै मतगणना सुरू गरिएको थियो।
अहिले सम्म पदाधिकारीको मात्रै परिनाम सार्वजनिक भएको छ। अन्य पदहरुमा मतगणना जारी छ।