नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सरकार परिवर्तनका कोसिसहरू माकुराको जालोजसरी च्यातिएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभामा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको प्रस्तावको समर्थन गर्दै उनले त्यस्तो बताएका हुन्।
‘सरकारलाई स्थायीत्वको साथमा अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता थियो। यसबीचमा पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने, कुनै पारदर्शी ढंगले होइन, पर्दाभित्रबाट सरकारलाई कमजोर बनाउने, सरकारलाई बदल्ने खालका कोसिसहरू पनि भए। तर कोसिस माकुराको जालो जसरी च्यातियो, त्यो कुनै लुकेको कुरा होइन। सरकार परिवर्तनका कोसिसहरू माकुराको जालोजसरी च्यातियो,’ उनले भने।
उनले प्रतिनिधि सभा सरकार परिवर्तनमा होइन, यो सरकारलाई अझ धेरै पहल दिन चाहन्छ भन्ने घटनाक्रमले पुष्टि गरेको बताए।
‘सरकार परिवर्तनका कोसिसहरू माकुराको जालोजसरी च्यातिएपछि स्वाभाविकरूपमा त्यसका प्रतिक्रिया व्यक्त भइरहेका छन्,’ उनले भने।
प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्रिया चलिरहेको छ।