नेपाली कांग्रेसले आकस्मिक संसदीय दल बैठक बोलाएको छ।
प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबार संसदीय दल बैठक बोलाइएको हो। अब केहीबेरमा संसदीय दल बैठक बस्नेछ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ।
त्यसपछि ल्होत्से हलमै पत्रकार सम्मेलन गरिने उनको भनाइ छ।
कांग्रेसले सोमबारको प्रतिनिधि सभामा पनि संसदीय छानबिन समिति गठनको माग गर्दै वेल घेराउ र नाराबाजी गरेको थियो।
कांग्रेससहित प्रतिपक्षी दलहरूको विरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वास मत लिएका छन्। प्रधानमन्त्रीलाई एक सय ५७ जना सांसदले विश्वास मत दिएका छन्।
प्रधानमन्त्रीले विश्वास मत लिँदा कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाले उभिएर विरोध गरेका थिए।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत अपचलनमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।