उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गिरीबन्धुको जग्गा सट्टापट्ट प्रकरणमा भएको नीतिगत भ्रष्टाचार पनि छानबिनको दायरामा ल्याउने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि संसद् भवन नयाँ बानेश्वरमा बोल्दै उनले गिरीबन्धुको छानबिन गर्ने बताएका हुन्।
‘सत्तामा रहेको दलले विश्वास छैन भनेर समर्थन फिर्ता लिएपछि विश्वास मत लिने संवैधानिक व्यवस्था हो। यो संवैधानिक व्यवस्थाको अभ्यासलाई पनि अवरोध गर्ने भनेको के कुरा हो मैले भनिरहनुपर्दैन। लोकतन्त्रको भद्दा मजाक भएको मैले देखेँ,’ उनले भने, ‘उठाएका विषयहरूको सम्बोधन हुन्छ। प्रमुख प्रतिपक्षी दलले उठाएको सन्दर्भ भएकाले कुराकानी गरिएको हो। गिरीबन्धु किन बिर्सिनुपर्यो र!’
गिरीबन्धु प्रकरणमा को–को दोषी छन्?कहाँबाट सुरू भएको हो? को–को सहभागी छन्? किन बिर्सनुपर्यो र! सन्दर्भ त्यो थिएन,’ उनले भने।
सहकारीको बचत अपचलनमा गृहमन्त्रीकै संलग्नता रहेको भन्दै छानबिनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठनको माग गर्दै आएको छ। त्यही सन्दर्भमा आइतबार प्रतिनिधि सभामा गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका थिए। जवाफ दिने क्रममा सत्ता पक्षका नेतामाथि उठेका गिरीबन्धु टी-इस्टेटलगायतका प्रकरणमा गृहमन्त्री नबोलेको भनेर टिप्पणी भएपछि उनले मुख खोलेका हुन्।