प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आरोप लागेका नेताहरूमाथि छानबिन गर्न आग्रह गरेको छ।
प्रमुख सचेतक रमेश लेखकले सोमबार संघीय संसद भवन परिसरमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्रीले कांग्रेस नेताहरूमाथि आरोप लगाएकोले छानबिन गर्न भनेका हुन्।
‘हिजोका दिनमा गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई लाञ्छित गर्नुभयो। उहाँले कांग्रेसका नेताहरूमाथि प्रश्न उठाउनुभएको छ,’ उनले भने, ‘हामी चुनौती दिन चाहन्छौं, तपाईं छानबिन गर्नुस्। अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस्।’
उनले सरकारको काम प्रश्न सोध्ने नभएको पनि बताए।
‘तपाईं यी सबै घटनाको अनुसन्धान गरेर प्रमाणित गर्नुहोस्, यो हाम्रो चुनौती हो,’ उनले भने, ‘तपाईंले गम्भीर लाञ्छना लगाउनुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नु भएन भने के हुन्छ त्यो पनि व्यहोर्नुपर्ला। भ्रामक कुरा गरेर पाइन्छ सरकारमा बसेको मानिसले? पाइँदैन। हामीले यस विषयमा प्रधानमन्त्रीजीको पनि ध्यानाकर्षण गराएका छौं।’