नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संयुक्त बैठक यही जेठ ९ गते बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपा बस्ने गरी बोलाइएको हो।
‘समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरी धारणा बनाउन संयुक्त बैठक बोलाइएको हो,’ उनले भने।
कांग्रेसभित्र केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक माग भइरहेको थियो। केन्द्रीय सदस्य नैनसिंह महरलगायतले पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राख्न माग गरेका थिए।
कांग्रेसले सदनमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय समिति माग गर्दै आएको हो।
सहकारी प्रकरणमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसभित्र सडक र सदनबाट आवाज उठाउनुपर्ने माग पनि छ। नेविसंघ, तरूण दल, नेपाल महिला संघले सडकमा प्रदर्शन भने गरेका थिए।
संसदीय समिति गठनमा प्रधानमन्त्रीदेखि सत्ता गठबन्धनका नेताहरू सहमत भए पनि क्षेत्राधिकारबारे कांग्रेससँग कुरा मिल्न सकेको छैन।
कांग्रेसले महासमिति बैठकपछि केन्द्रीय समिति बैठक राखेको थिएन। कांग्रेसले फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गरेको थियो। महासमितिबाट पारित भएका प्रस्तावहरू सुझावसमेत समेटेर केन्द्रीय समितिबाट अनुमोदन गर्ने भनिएको थियो।