नेकपा एमाले दाङको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ।
घोराहीस्थित जिल्ला पार्टी कार्यालयमा सोमबार बिहानदेखि चलेको अध्यक्ष मण्डलको बैठकले शिवकुमार आचार्यको नेतृत्वमा १२४ सदस्य नयाँ जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।
आचार्य एमाले महासचिव शंकर पोख्रेलका बहिनीज्वाइँ हुन्। पोख्रेलकी बहिनी तथा शिवकुमारकी श्रीमती मिना आचार्य पार्टीमा केन्द्रीय सदस्यका साथै संघीय समानुपातिक सांसद छिन्।
घोराही उपमहानगरपालिका– १७ पनौराका शिवकुमार आचार्य यसअघि पार्टीका साधारण सदस्य मात्रै थिए। त्यसअघि भने उनी लुम्बिनी प्रदेश कमिटी सदस्य थिए।
पछिल्लो समय उनी राजनीतिक रूपमा निष्क्रिय रहेको एक एमाले नेताले बताए।
'गाउँघरमा फरक परिवेशमा रमाइरहेको र राजनीतिक रूपमा निष्क्रिय व्यक्तिलाई अध्यक्ष बनाउँदा पार्टी गतिशील बन्नेमा आशंका छ,' एमालेका एक नेताले भने, 'जो व्यक्ति जेमा रमाइरहेको छ, त्यसैमा रमाउन दिनु उचित हुने थियो।'
अध्यक्ष मण्डलको बैठकले जिल्ला उपाध्यक्षमा यसअघिका सचिव घोराहीका मनोहर बुढाथोकीलाई चयन गरेको छ।
सचिवमा तुलसीपुर– १२ का पूर्वअध्यक्ष श्याम डाँगी चयन भएका छन्।
त्यस्तै उपसचिवमा बबई गाउँपालिकाका पूर्वअध्यक्ष भुवनेश्वर पौडेल र गढवा गाउँपालिकाकी उपाध्यक्ष सीता चौधरीलाई चयन गरिएको छ।
पाँच पदाधिकारी बाहेक अन्य सबै सदस्य रहने निर्वाचन कमिटीको संयोजक ठाकुर डिसीले जानकारी दिए।
जिल्ला नेतृत्व चुन्न स्थायी कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीको नेतृत्वमा जिल्लामा उपलब्ध केन्द्रीय सदस्यहरू सदस्य रहेको कमिटी बनाइएको थियो।
त्यो अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य तथा यसअघिका तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, केन्द्रीय सदस्य तथा पूर्वसांसद शान्ता चौधरी, पूर्वराष्ट्रिय सभा सदस्य कोमल वली, पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मण आचार्य, सीता सिग्देल, केन्द्रीय सदस्य अनारकली मिया लगायत नेताहरू थिए।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्न आउने तयारी गरिएको भए पनि केन्द्रमा भइरहेको राजनीतिक उथुलपुथलका कारण अन्तिम समयमा स्थगित भएको थियो। त्यसैले महासचिव पोख्रेल आफै गृहजिल्लाको पार्टी अधिवेशन उद्घाटन र सम्बोधन गर्न आए। हाल उनी दाङमै छन्।