सहकारीको बचत अपचलन छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक मंगलबार बस्दैछ।
कानून, न्याय तथा संसदीय मन्त्रालयमा बिहान ९ बजे कार्यदलको बोलाइएको नेपाली कांग्रेसका सांसद जीवन परियारले जानकारी दिए।
‘हिजै बस्नुपर्ने थियो। आजको लागि बोलाउनुभएको छ। हामी सहभागी हुन्छौं,’ परियारले सेतोपाटीसँग भने।
कांग्रेसका तर्फबाट सांसद ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुने परियारले बताए।
शनिबार सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहकारीको बचत ठगी, हिनामिना, अपचलन, दुरुपयोगबारे छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो। क्षेत्राधिकारको टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा नेकपा (एमाले) प्रमुख सचेतक महेश बर्तौला र कांग्रेस सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेको कार्यदलसमेत बनेको थियो।
कार्यदलले आइतबार दुई चरणमा छलफल गरे पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामै तोकेर क्षेत्राधिकार तय गर्ने र उनी मुछिएको सहकारीको नाम अनुसूचीमा उल्लेख गर्ने भन्ने विवाद हुँदा सहमति जुट्न सकेको थिएन।