नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको प्रति खेद जनाएका छन्।
मंगलबार सिरोहिया पक्राउ परेपछि उनीहरू दुबैले आफ्नो ट्विटरमार्फत आपत्ति जनाएका हुन्।
सभापति देउवाले सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको भन्दै यसलाई सरकारको अलोकतान्त्रिक कदम भनेका छन्।
उनले लेखेका छन्, 'कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उद्देश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ।'
त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरूपयोग भएको बताएका छन्।
उनले लेखेका छन्, 'कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरूपण हुने नै छ। तर सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ। कान्तिपुरले लगातार रूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य सावित गरेर देखाउनुपर्नेमा यस प्रकारको गिरफ्तारी सत्ताको चरम दुरूपयोग हो।'
यो पनि पढ्नुहोस्- कैलाश सिरोहियालाई पक्राउ गर्नु बदनियतपूर्ण ढंगले प्रतिशोध पूरा गर्ने बहाना मात्र होः गगन थापा
धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ साढे ६ बजे थापाथलीस्थित कान्तिपुर कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको टोली कान्तिपुर कार्यालय पुगेको थियो। केही समयपछि कार्यालयकै प्रमुख एसएसपी सानुराम भट्टराई पनि कान्तिपुर पुगेका थिए। उनीहरूको टोलीले कान्तिपुर अध्यक्ष सिरोहियालाई पक्राउ गरेको हो।
प्रहरीले सिरोहियालाई पक्राउ गरेपछि कान्तिपुर परिसरमा गृहमन्त्री रवि लामिछानेविरूद्ध नाराबाजी पनि भएको थियो।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै जाहेरी परेको थियो।
एसपी रेग्मीका अनुसार पक्राउ परेका सिरोहियालाई धनुषा लगिएको छ।
पक्राउ परेपछि कान्तिपुर कार्यालय परिसरमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका अध्यक्ष सिरोहियाले आफूलाई नागरिकता काण्डमा भन्दा पनि सहकारी ठगीबारे गृहमन्त्री रवि लामिछानेबारे समाचार लेखिएकोमा पक्राउ गरिएको बताए।
साथै सिरोहियाले गृहमन्त्री लामिछानेमाथि दुइटा पासपोर्ट प्रयोगको मुद्दा रहेको पनि बताएका थिए।
'गृहमन्त्री रवि लामिछानेमाथि त दुइटा पासपोर्टको मुद्दा छ। यसैलाई मेरो उजुरी मानेर भोलि वारेन्ट जारी हुनेमा म विश्वस्त छु,' सिरोहियाले भने, 'किनभने उहाँले दुइटा पासपोर्ट प्रयोग गर्नुभएको छ, कुनै महान्यायाधिवक्तालाई यो अधिकार छैन।'
सिरोहियाले आफूमाथि लागेको आरोपबारे छानबिन गर्न सहयोग गर्ने पनि बताएका छन्।