नेपाली कांग्रेसका सांसद जीवन परियारले कार्यदलमा ठोस प्रस्ताव ल्याउन भनेको बताएका छन्।
सहकारीको बचत हिनामिना, ठगी, दुरुपयोग छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न बिहीबार कार्यदलको बैठक बस्दैछ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बताए।
यो बैठकमा मूर्त प्रस्ताव ल्याउन कांग्रेसले आग्रह गरेको र सत्तापक्षले ल्याउने प्रस्तावका आधारमा छलफल तय हुने सांसद परियारले बताए।
‘उहाँहरूले आज दिउँसो तीन बजेका लागि बैठक बोलाउनुभएको छ। हामीले ठोस प्रस्तावसहित आउनुहोला भनेका छौं। उहाँहरूले के प्रस्ताव ल्याउनुहुन्छ, छलफल त्यही आधारमा तय हुन्छ,’ उनले भने, ‘हामीले त आन्दोलन घोषणा गरिसकेका छौं।’
प्रमुख प्रतिपक्षी दलले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ।
कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ।
यसअघि बसेका तीनवटा बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ—आफ्नो अडानमा रहेकाले निष्कर्षमा पुग्न सकेका थिएनन्।
बुधबार बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सहकारीहरूको बचत ठगी, अपचलन, हिनामिना र दुरुपयोग जाँचबुझ गर्न र गृहमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउन सडक संघर्ष गर्ने निर्णय गरिसकेको छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सांसद जीवन परियार र रास्वपा सांसद शिशिर खनाल सदस्य छन्। कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी हुँदै आएका छन्।