नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देश विस्तारै निरंकुशता र अधिनायकवादतर्फ जान खोजेको देखिएको बताएका छन्।
अहिले ट्रेलरका रूपमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पक्राउ गरेको उनको भनाइ थियो।
‘यो देश विस्तारै निरंकुशता र अधिनायकवादतर्फ जान खोज्दैछ, जबसम्म यो कुरा हामी बुझ्दैनौं आज यसलाई समायो, भोलि उलाई भनेर रमाइरहेका हुन्छौं,’ कोइरालाले विराटनगरमा बिहीबार भएको कार्यक्रममा भने, ‘यो देशमा के भइरहेको छ? सरकार छ कि छैन? कसरी सरकार सञ्चालन भइरहेको छ? यो अत्यन्त गम्भीर विषय भएर गएको छ।’
सिरोहियाले नागरिकताका सन्दर्भमा कुनै गलत भएको पाइएमा दण्ड पाउनुपर्ने पनि उनले बताए।
‘तर व्यक्ति सिरोहिया केही पनि होइन। कान्तिपुरलाई जसरी आक्रमण गरेको छ त्यो घटनापछि म मिडियाहरू नजिकबाट फलो गरिरहेको छु, कहाँ के भइरहेको छ र कसले के भनिरहेको छ भनेर,’ उनले भने।
उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयको दुइटा पासपोर्ट रहेको विषयका कसैले आवाज नउठाएको पनि बताए।
‘गृहमन्त्री रवि लामिछानेको दुइटा पासपोर्ट हुँदाखेरि र संसदका महासचिवको दुइटा पासपोर्ट हुँदा तपाईंहरू केही लेखिरहनुभएको छैन,’ पत्रकारहरूतर्फ लक्षित गर्दै कोइरालाले भने, ‘देशमा कानून छ। तर उहाँहरूलाई केही हुँदैन। त्यो कानून के गृहमन्त्रीलाई र संसद महासचिवलाई लाग्दैन?’
उनले गृहमन्त्री लामिछानेमाथि सहकारीको बचत अपचलनको आरोपसमेत लागेको बताए।
‘गृहमन्त्री भएका नाताले सहकारी ठगीबाट उहाँलाई उन्मुक्ति दिने? यो हुन सक्दैन,’ उनले भने, ‘सहकारी ठगीमा उहाँ संलग्न हुनुहुन्छ र उहाँ उन्मुक्ति पाउन सक्नुहुन्न भन्ने कांग्रेसको ठहर छ। जसले बचाउन खोज्छ त्यो पार्टी वा व्यक्ति हो त्यो उजागर भएर जान्छ, यो गम्भीर विषय छ।’
उनले गृहमन्त्री लामिछानेले आफू सहकारीमा संलग्न नरहेको बताइरहेको उल्लेख गर्दै भने, ‘त्यसो भए गृह मन्त्रालय छाडेर अर्को मन्त्रालयमा जानुस् न केही समय। प्रहरीलाई अनुसन्धान गर्न दिनुस्। हामीले तपाईंको राजीनामा पनि मागेको छैन।’
गृहमन्त्री लामिछानेले मिडियालाई तर्साउन खोजेको पनि उनको आरोप छ।
भिडिओ: