सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ।
बैठक केही बेरअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएको हो।
बैठकमा कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दलका सांसद जीवन परियार सहभागी छन्।
त्यस्तै कांग्रेसकै सांसद ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल पनि बैठकमा छन्।
यसअघिका तीनवटा बैठक निष्कर्षमा पुग्न नसकेपछि कांग्रेसले सत्तापक्षलाई मूर्त प्रस्तावसहित आउन भनेको छ।
‘हामीले ठोस प्रस्तावसहित आउनुहोला भनेका छौं। उहाँहरूले के प्रस्ताव ल्याउनुहुन्छ, छलफल त्यही आधारमा तय हुन्छ,’ उनले भने, ‘हामीले त आन्दोलन घोषणा गरिसकेका छौं।’
प्रमुख प्रतिपक्षी दलले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ।
कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ।
बुधबार बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सहकारीहरूको बचत ठगी, अपचलन, हिनामिना र दुरुपयोग जाँचबुझ गर्न र गृहमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउन सडक संघर्ष गर्ने निर्णय गरिसकेको छ।