नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका नेताहरूमाथि छानबिन गर्न आग्रह गरेका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि सदनबाट कांग्रेस नेताहरूमाथि आरोप लगाएको भन्दै उनले त्यसमा छानबिन गर्न माग गरेका छन्।
‘कांग्रेसमा चलनचल्तीका भाषामा भन्दा दाजु-भाउजू, मामा-माइजू, कांग्रेसका को-को माथि छानबिन गर्नुपर्ने हो गर्नुस्,’ नेविसंघ झापा काठमाडौं सम्पर्क मञ्चले बिहीबार गरेको कार्यक्रममा महामन्त्री शर्माले भने, ‘सभापति, उपसभापति, महामन्त्री को-को पदाधिकारीमाथि छानबिन गर्नुपर्ने हो गर्नुस्, छानबिन गम्भीरतापूर्वक हुनुपर्छ। कुनै राजनीतिक दल यसरी उभिएर संसारका सामुन्ने पार्टीका सबै नेताको छानबिन गराउन तयार छु भन्छ?’
उनले सहकारीको बचत ठगीका विषयमा गम्भीर छानबिनको जरूरी रहेको बताए।
‘संसदमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि संसदमै छन् भन्नुभयो, त्यो भन्न पाइँदैन। सभामुखलाई सोध्छु म, तपाईं विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्नेकुरा संसदमा बोलन पाइन्छ भन्ने कुरामा सहमत हो?,’ उनले भने, ‘यदि होइन भने किन रेकर्डबाट हटाउनु हुन्न? सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नु हुन्न, को हुन् तिनलाई गिरफ्तार गर भनेर।’
गृहमन्त्री रवि लामिछानेले दिएको ‘सांसदले विदेशीलाई सूचना बेच्छन्’ भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन उनले माग गरेका छन्।
(न्युज एजेन्सी नेपाल)