नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको तीन दिने युवा नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा षरिषदद्वारा तिनै तहमा सञ्चालित नमुना युवा संसद अन्तर्गत संघ र सातै प्रदेशवाट प्रतिस्पर्धाका आधारमा छनौट भएका नमुना युवा राष्ट्रपति, प्रधानमन्त्री, प्रदेश प्रमुख, संघीय मन्त्री, मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता सहभागी थिए।
उक्त कार्यक्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा युवा मन्त्रीसंग युवा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रममा सातै प्रदेशका युवाले युवा सम्वन्धि विविध प्रश्न गरेका थिए।
त्यसैगरी युवासंग युवा सांसद कार्यक्रममा सहभागी युवाहरुले सांसदहरू महेश वर्तौला, माधव सापकोटा र सोविता गौतमसंग संवाद गरेका थिए।
युवाहरुको वहुआयामिक नेतृत्व विकासका लागि आयोजना गरिएको कार्यक्रममा पूर्व राजदुत महेशराज दाहालले युवा नेतृत्व र कुटनीति, पूर्व सचिव सुरेश अधिकारीले राजनीति र प्रशासन, राष्ट्रिय सभाका पूर्व सचिव राजेन्द्र फुयालले संसदीय प्रणाली, सिद्धान्त, विधि र ब्यवहार विषयमा सहजिकरण गरेका थिए।
कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई नीति निर्माणतहदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी वनाउन परिषदले युवा मैत्री शासन र नेतृत्व विकासमा जोड दिइएको वताए।