प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सदनमा रहेका विपक्षी दलहरूको बैठक बसेको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको कांग्रेस संसदीय दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलहरूको बैठक बसेको छ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकका स्वकीय सचिव जनक भट्टले सदन बैठक बस्नुअघि विपक्षी दलहरूको बैठक बसेको जानकारी दिए। प्रतिनिधि सभा बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो। तर बैठक बस्न ढिलाइ भएको छ।
कांग्रेसले सदनमा कसरी अघि बढ्ने भन्नेबारे राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी दलहरूसँग छलफल गरेको हो।
कांग्रेसले सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार भए पनि कार्यादेशबारे सहमति भइसकेको छैन। उक्त कार्यादेशमा गृहमन्त्री रवि लामिछानेकै नाम लेख्नुपर्ने अडानमा कांग्रेस छ भने सत्ता पक्ष व्यक्तिकेन्द्रित समिति बनाउन नहुनेमा छन्।
आज पनि कार्यदल बैठक बसेको छ।
यसैबीच प्रधानमन्त्री दाहालले शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।
संसदीय समितिको कार्यादेशमा सहमति जुटेन भने नीति तथा कार्यक्रम कांग्रेसका विरोधबीच नै सदनबाट पारित गर्ने तयारीमा सरकार छ।