राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग शितल निवासमा शुक्रबार बिहान कुराकानी गरेका छन्।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई बोलाएर छलफल गरेका हुन्।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग सदनको गतिरोधबारे चिन्ता प्रकट गरेका छन्।
‘राष्ट्रपतिज्यूले प्रधानमन्त्रीज्यूलाई शितल निवासमा बोलाएर कुराकानी गर्नुभएको हो,’ स्रोतले भन्यो, ‘सदनमा जारी गतिरोध अन्त्य गर्न पहल गर्नुहोस् भन्ने कुरा राष्ट्रपतिज्यूको थियो।’
जबाफमा प्रधानमन्त्री दाहालले गतिरोध अन्त्यका लागि पहल भइरहेको बताएका थिए।
‘हामी समस्या समाधानका पक्षमा छौं, सदनमा जारी गतिरोध अन्त्यका लागि पहल भइरहेको छ,’ प्रधानमन्त्री दाहालको भनाइ थियो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी बचत ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको छ।
प्रधानमन्त्री दाहालसहित सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार भए पनि कार्यादेशबारे सहमति भइसकेको छैन। उक्त कार्यादेशमा गृहमन्त्री रवि लामिछानेकै नाम लेख्नुपर्ने अडानमा कांग्रेस छ भने सत्ता पक्ष व्यक्तिकेन्द्रित समिति बनाउन नहुनेमा छन्।
कांग्रेसले संसदीय समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताउँदै आएको छ। जसका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध हुँदै आएको छ।