सहकारीको बचत अपचलन, हिनामिना, ठगीबारे छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्ने कार्यदल बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नयाँ माग अघि सारेको नेकपा (एमाले) का कार्यदल सदस्य महेश बर्तौलाले दाबी गरेका छन्।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा शुक्रबार बिहान बसेको बैठकमा कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका भनिएका विषयका अतिरिक्त गोरखा मिडिया नेटवर्कलाई पनि छानबिनको दायरामा ल्याउना माग गरेको उनले बताए।
‘उहाँहरूले टिओआरमा सुप्रिम, सूर्यदर्शन लगायतका सहकारी र त्यसमा रवि लामिछाने मुछिएको कुरा उठाइ नै रहनुभएको थियो,’ एमाले प्रमुख सचेतक महेश बर्तौलाले सेतोपाटीसँग भने, ‘आजको बैठकमा गोरखा मिडिया नेटवर्कको नाम राखेर छानबिन गर्नुपर्ने कुरा ल्याउनुभएको छ। त्यसमा छलफल हुँदैछ।’
गोरखा मिडिया नेटवर्कमा २०७८ असार १ गतेसम्म गृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक थिए। सहकारीको पैसा गोरखा मिडिया नेटवर्कमा गएको चर्चा भइरहेको छ। गोरखा मिडिया नेटवर्कले नै ग्यालेक्सी फोरके टिभी र ग्यालेक्सी फोर के रेडियो सञ्चालन गरेको हो।
उनले बैठक सकारात्मक दिशातर्फ उन्मुख भएको पनि बताए। गृहमन्त्रीको नाम नराख्ने हो भने उनी जोडिएको गोरखा मिडिया नेटवर्कको नाम राखेर क्षेत्राधिकार तय गरौं भन्ने कांग्रेसको माग रहेको बर्तौलाले बताए।
‘गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ सँलग्न भएको संस्थाका नामलाई पनि समेटेर त्यसमाथि छलफल गरेर जान सकिने आधारहरू निर्माण गरेर जाउँ न भन्ने एउटा नयाँ प्रस्ताव ल्याउनुभएको छ,’ उनले भने।