सहकारीको बचत हिनामिना छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको बैठक बस्दैछ।
शीर्ष नेताहरूको बैठक बिहान ९ बजे बस्ने तय भएको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
अहिले बिहान प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बैठक बस्न लागेको उनले जानकारी दिए।
‘बिहान तीन जना नेता मात्रै बस्नुहुन्छ। सहमति हुने भयो र आवश्यक पर्यो भने कार्यदलका सदस्य (कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सांसद जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल) पनि बस्छौं। सहमति भएन भने सदन सुरू हुन्छ,’ उनले सेतोपाटीसँग भने।
सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग, ठगी छानबिन गर्न प्रमुख दलहरूबीच संसदीय समिति बनाउने सैद्धान्तिम सहमति बनेको छ। तर क्षेत्राधिकारमा कुरा मिल्न सकेको छैन।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुटवलको सुप्रिम, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडियामा रकम गएकाले त्यो संस्थालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नाम क्षेत्राधिकारमा तोक्नुपर्ने अडान राख्दै आएको छ।
सत्तापक्षले सुप्रिम, सूर्यदर्शन लगायत सहकारीहरूको नाम अनुसूचीमा उल्लेख गरेर जानुपर्ने अडान राखेको छ। यसैमा कुरा मिलेको छैन।
प्रमुख प्रतिपक्ष मिल्ने पक्षमा नदेखिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए।
‘अहिलेसम्मको छलफल हेर्दा कांग्रेस मिल्ने पक्षमा नै देखिएको छैन,’ उनले भने।
क्षेत्राधिकारको टुंगो लगाउन शनिबार बसेको कार्यदलको बैठकले सहमति गर्ने जिम्मा शीर्ष नेताहरूलाई दिएको थियो।