नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार बदलाको भावमा गएको बताएका छन्।
परिवर्तन अभियानले 'संघीय गणतन्त्रात्मक शासन व्यवस्था विगत र वर्तमानको समीक्षा: आगामी कार्यभार' विषयमा काठमाडौंमा आइतबार दिउँसो गरेको अन्तर्क्रियामा बोल्दै सिटौलाले सरकार आलोचना र विरोध सुन्न नसक्ने ठाउँमा पुगेको बताए।
‘सरकार बदलाको भावमा गयो। यसले मलाई गाली गर्ने यसलाई म किन नठोक्ने भन्नेमा गयो,’ उनले भने, ‘कस्तो लोकतन्त्रको अभ्यास गर्न खोज्दै छ सरकार? आफ्नो आलोचना र विरोध सुन्न नसक्ने। आलोचना र विरोधले त सरकारलाई फाइदा हुन्छ। यो आलोचनारहित व्यवस्था र सरकार हो र?’
उनले प्रेसले विगतमा आन्दोलनलाई उठाउन खोजेको र ऐतिहासिक योगदानलाई भुल्न नहुने उनले बताए।
‘बदला लोकतन्त्रको विपरीत कुरा हो। दुराशय लोकतन्त्रको मूल्यमान्यतालाई नष्ट गर्छ। लोकतन्त्र मासिए गणतन्त्र कहाँ पुग्ला?,’ उनले भने, ‘लोकतन्त्र र गणतन्त्र मासियो भने प्रधानमन्त्रीजी कहाँ पुग्नुहुन्छ?’
संविधानको मूल मर्म र भावनाअनुसार सरकार अघि बढ्नुपर्ने उनले बताए।