प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधबीच चलिरहेको आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूबीच धकेलाधकेल भएको छ।
यसअघि जेठ ३ गते पनि सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच धकेलाधकेल भएको थियो। उक्त बैठकमा कांग्रेस र एमाले सांसदबिच धकेलाधकेलको स्थिति पैदा भएको थियो।
आइतबार भने रास्वपाका प्रमुख सचेतक सन्तोष परियार अर्थमन्त्री वर्षमान पुनलाई रोस्टममा लैजानका लागि तान्न वेलमै पुगेपछि धकेलाधकेल भएको हो।
बैठकमा सभामुख देवराज घिमिरेले अर्थमन्त्री पुनलाई आर्थिक सर्वेक्षण पेस गर्न समय दिएका थिए। तर पुन रोस्टममा पुग्न पाएनन्।
कांग्रेस सांसदहरूले घेरेपछि उनी वेलमै रोकिन पुगे। तर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक परियार एकाएक अर्थमन्त्रीलाई तान्न पुगे। उनले पुनको हात समातेर अघि लगाए।
तर कांग्रेस सांसदहरूले उनलाई चारैतिरबाट घेरा हाले। त्यसपछि भने परियार र मन्त्री पुन अघि बढ्न सकेनन्। सांसदहरूबिच भनाभन भयो। सभामुख घिमिरेले मर्यादा पालकहरुलाई अर्थमन्त्रीलाई रोस्टममा ल्याउन सहजीकरण गर्न निर्देशन दिए। त्यतिञ्जेल परियार र कांग्रेस सांसदबीच धकेलाधकेलको अवस्था बन्यो।
'सन्तोष परियारजी अर्थमन्त्रीलाई साथमा लिएर रोस्टममा पुर्याउन जाँदै हुनुहुन्थ्यो, कांग्रेस सांसदहरूले गर्याङगुरूङ पारे', एमाले सांसद योगेश भट्टराईले भने, 'हामीले नगर्नुस् न यस्तो किन गरेको भन्यौँ। महिला सांसदहरूले तान्नुभयो। त्यसपछि मर्यादा पालक आएर छेके।'
सांसद परियारले भने कांग्रेस सांसदहरु उग्र बनेको बताए।
'अर्थमन्त्रीको बाटो सांसदहरूले छेकेपछि म त्यहाँ गएँ। त्यो सत्तापक्षकै एरिया हो। म अर्थमन्त्रीलाई बाटो खोल्छु भनेर गएको थिएँ', परियारले भने, 'साथीहरूले घचेट्न थाले।'
उनले धकेलाधकेल भए पनि आफू उजुरी गर्ने पक्षमा नरहेको बताए। ' बाटो छेक्ने र धकेलाधकेल भएको हो', परियारले भने, 'मलाई नै इङ्गित गरेर यो घटना भएको रूपमा मैले बुझेको छैन।'
कांग्रेस सांसद सीता मिजारले भने अनावश्यक रुपमा वेलमा आइपुगेकी सांसद परियारलाई 'उता जान' भनेको बताइन्। 'हामीले यता नआउनुहोस् भनेका हौँ', सांसद मिजारले भनिन्, 'उहाँ वेलमा आउने होइन।'
कांग्रेस सांसदहरूले वेल घेराउ गरेका कारण अर्थमन्त्री पुन भने सांसदहरू बस्ने सिटको बिचमा छिरेर रोस्टम पुगेका थिए। उनलाई महिन्द्रराय यादव, हितराज पाण्डे, स्वर्णिम वाग्ले लगायतका सांसदले आफ्नो ठाउँबाट उठेर बाटो छाडिदिएका थिए।
अर्थमन्त्री रोस्टममा पुगेपछि मात्र कांग्रेस सांसदहरूको घेराबाट परियार बाहिर निस्कन पाएका थिए।
हेर्नुहोस् भिडिओ