बृहत् नागरिक आन्दोलनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा प्रतिशोध साँध्न सरकारी शक्ति दुरूपयोग भएको निष्कर्ष निकालेको छ।
बृहत् नागरिक आन्दोलनले आइतबार विज्ञप्ति निकाल्दै ‘पहिले समात अनि प्रमाण जुटाऊ’ शैलीमा गरेको गिरफ्तारीबाट प्रतिशोध साँध्न सरकारी शक्ति दुरूपयोग गरेको प्रस्ट हुने बताएको हो।
‘प्रेसलाई अवान्छित दबाब र त्रासमा पार्न प्रकाशक कैलाश सिरोहियामाथि प्रहरी कारबाही भएको भन्ने राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकारवालाहरूको ध्यानाकर्षणप्रति सरकारको उदासीनताले हाम्रो सन्देह बढाएको छ,’ विज्ञप्तिमा भनिएको छ।
त्यस्तै आफूले दुःखजिलो गरी कमाएको रकम सहकारी संचालकहरूबाट व्यापक हिनामिना भएपछि सर्वसाधारण जनता न्याय माग्न मुख्य शहरका सडकमा उभिन थालेको बेला देशको राजनीतिमा व्याप्त गतिरोधप्रति गम्भीर ध्यान गएको आन्दोलनले बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार भने सहकारीकै बचत अपचलनको आक्षेप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने विपक्षीको मागलाई आलटाल गरिरहेको आन्दोलनको ठहर छ।
संसद्लाई संवादभन्दा मुठभेडको थलो बनाउन सरकार उद्यत हुनु आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ।
‘राष्ट्रिय मुद्दाहरू सम्बोधन गर्नबाट संसद्लाई विमुख गर्ने, यसलाई अक्षम र अवरोधक बनाउने कुनै पनि गतिविधिप्रति सावधान रहन सत्ता पक्ष र विपक्ष सबैलाई हामी सचेत बनाउन चाहन्छौं,’ बृहत् नागरिक आन्दोलनले भनेको छ।
यही अवस्थामा, आफ्नो भूमिकाप्रति निरन्तर प्रश्न गर्दै आएको कान्तिपुरका प्रकाशकलाई आक्षेपित मन्त्री लामिछानेले पहिले समात अनि प्रमाण जुटाऊ शैलीमा गरेको गिरफ्तारी गरेको आन्दोलनले बताएको छ।
त्यस्तै आन्दोलनले आम जनताको जीविकासँग जोडिएको सहकारीको संकट समाधान गर्न, त्यसको अपचलनमा संलग्नमाथि कारबाहीसँगै सुशासन सुनिश्चित गर्न, त्यसप्रति खबरदारीको जिम्मेवारी भएको प्रेसको स्वतन्त्रताप्रति प्रतिबद्ध रहन सरकारलाई आफ्नो राजनीतिक तथा संवैधानिक भूमिका पनि सम्झाएको छ।
‘साथसाथै, सामाजिक सन्जालमार्फत् व्यक्ति र संस्थाहरू विरुद्ध संगठित तवरले जारी घृणा र भ्रम फैलाई भयको रजाइँ गर्नेहरूबाट निरूत्साहित नभई बरू त्यस्ता चेष्टालाई उदांगो पार्दै, सही, तथ्यपूर्ण र खोज पत्रकारिताको बढ्दो सान्दर्भिकताबीच थप कर्तव्यनिष्ठ हुन प्रेस समुदायसँग हामी हार्दिक आह्वान गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।