नेपाली कांग्रेसका नेताहरू आन्तरिक छलफलपछि बालुवाटारतिर लागेका छन्।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा करिब तीन घन्टा पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल गरेपछि नेताहरू बालुवाटारतर्फ लागेका हुन्।
उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार गएका छन्।
कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र संसदीय छानबिन समिति गठनका मागलगायतमा केन्द्रित रहेर छलफल गरेको थियो।
कांग्रेसले सहकारी बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै लामो समयदेखि सदनमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ। केही दिनदेखि कांग्रेसले सडक प्रदर्शनबाट पनि संसदीय छानबिन समिति गठनमा दबाब दिँदै आएको छ।
संसदीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सत्ता पक्ष तयार देखिए पनि कार्यादेशमा सहमति हुन सकिरहेको छैन। यसका लागि कार्यदल नै बनाएर छलफल भए पनि सहमति नजुटेपछि शीर्ष नेताहरू र कार्यदल सदस्यहरूबीच सामूहिक छलफल भएको छ।
सोमबार बिहान पनि बालुवाटारमा प्रधानमन्त्रीसहित सत्ता र प्रतिपक्षी दलका शीर्ष नेतहरूबीच छलफल भएको थियो। आन्तरिक रूपमा छलफल गरी पुन: बैठक गर्ने सहमतिपछि उनीहरू उठेका थिए।
अहिले केहीबेरमा बालुवाटारमा पुन: प्रधानमन्त्रीसहित सत्ता र प्रतिपक्षी दलका नेताहरू छलफलमा जुट्दैछन्।
सहमहामन्त्री जीवन परियारले आफूहरू पदाधिकारी बैठकलगत्तै छलफलका लागि बालुवाटार गइरहेको बताए। सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्नेमा सत्ता र प्रतिपक्षी सहमतिमा पुगेका छैनन्।
कांग्रेसले गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ। तर गोरखा मिडियाका पदाधिकारी लेखेर पनि संसदीय समिति बनाउन सकिनेमा कांग्रेस नेताहरू छन्। लामिछाने ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक थिए।