सहकारीको बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन भएको सहमतिलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दैछ।
कार्यदलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
बालुवाटारमा सोमबार राति बसेको शीर्ष नेताहरूको बैठक सकारात्मक रूपमा टुंगिएको दुवै पक्षका नेताले बताएका छन्।
मंगलबार बिहान बस्ने बैठकले कार्यादेशलाई अन्तिम रूप दिने र मंगलबारबाटै संसदको गतिरोध अन्त्य हुने उनीहरूले दाबी गरेका छन्।
एक साताअघि नै संसदीय छानबिन समिति गठनबारे सैद्धान्तिक सहमति जुटे पनि कार्यादेशमा कुरा मिलेको थिएन।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको भन्दै नाम तोकेर समिति बनाउनुपर्ने अडान राख्दै आएको छ। सत्तापक्ष भने समिति बन्नुअगावै व्यक्तिलाई दोषी किटान हुने गरी नाम उल्लेख गर्न नहुने अडानमा छ। यो विवादले संसदको गतिरोध जारी छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधकै बीच सरकारको नीति तथा कार्यक्रम पारित गरिएको थियो।
संसद्को यही गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठक बसेको थियो।
सोमबार राति अबेर सकिएको बैठकले कार्यादेशमा गृहमन्त्री लामिछानेको नाम किटान नगरे पनि रकम हिनामिना गरिएका सुप्रिम, सूर्यदर्शन, सहारा लगायतका सहकारी र लामिछाने आबद्ध गोरखा मिडियाको नाम उल्लेख गर्नेबारे लगभग सहमति भएको एक कांग्रेस नेताले बताए।
‘विभिन्न सहकारीबाट गोरखा मिडियामा प्रवाह भएको रकमबारे अध्ययन गर्ने र अपचलनमा संलग्न देखिए कारबाही गर्ने सहमति भएको छ,’ बैठकमा सहभागी एक कांग्रेस नेताले भने, ‘कार्यादेशको भाषा कस्तो हुन्छ भन्नेबारे मंगलबारको बैठकले टुंगो लगाउनेछ।’
संसदीय छानबिन समितिमा कांग्रेस र एमालेका २–२ जना; माओवादी, रास्वपा र राप्रपाका १–१ जना गरी ७ सदस्य रहनेबारे पनि छलफल भएको उनले जानकारी दिए। समितिलाई छानबिन टुंगो लगाउन करिब तीन महिना समय दिने कुरा भइरहेको छ।
कार्यदल संयोजक तथा कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरीले करिब तीन घन्टा चलेको बैठक सहमति नजिक पुगेको बताएका थिए।
‘हामी सहमतिमै पुग्यौं भन्न सकिन्छ। भोलि ११ बजे कार्यदल बैठक बसेर कार्यादेशलाई अन्तिम रूप दिन्छौं,’ उनले भने, ‘भोलिबाटै सदनको गतिरोध हट्छ।’
बैठकमा सहभागी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बालुवाटार बैठक निष्कर्ष उन्मुख हुँदै समापन भएको बताए थिए। मंगलबार ११ बजे बस्ने कार्यदल बैठकले छानबिन समितिको कार्यादेश टुंगो लगाउने उनको भनाइ थियो।
नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले पनि बैठक सकारात्मक भएको र मंगलबारको कार्यदल बैठकले कार्यादेशलाई अन्तिम रूप दिने बताए।
यसबीच कांग्रेसले मंगलबार बिहान १० बजे संसदीय दलको बैठक डाकेको छ। बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
सोमबारको बैठकमा प्रधानमन्त्री प्रचण्डसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा दलका नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। त्यस्तै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की र कार्यदलका सदस्य जीवन परियार पनि थिए।
नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, कानुनमन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायत सहभागी थिए।