नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले बनेको समीकरण मिसन–८४ सम्म कायम राख्ने बताएका छन्।
नेकपा (एमाले) ले आयोजना गरेको राष्ट्रिय महिला भेलाको समापन गर्दै पोखरेले भने,‘अहिलेको समीकरण मिसन–८४ सम्म कायम राख्न चाहन्छौं,’ उनले भने, ‘जे कारणले हामीलाई घेराबन्दी गर्ने काम भयो। जनताले हामीलाई रोज्दारोज्दै जनताबाट हामीलाई विमुख पार्ने काम भयो। मिसन–८४ मा त्यसलाई अन्त्य गर्न चाहन्छौं। त्यसैकारण यो समीकरणलाई मिसन–८४ सम्म लिएर जान चाहन्छौं।’
एमाले अहिलेको समीकरणमा कमजोर उपस्थितिमा रहेको भनेर आलोचना हुने गरेको भन्दै एमालेले एमाले विरूद्धको घेराबन्दी र चक्रब्यूलाई तोडेको स्मरण गराए।
‘नेकपा (एमाले) लाई भविष्यको निर्णायक शक्तिको रूपमा स्थापित गर्ने र कसैको सहारा अनि वैशाखी विना बहुमतको सरकार निर्माण गर्ने उद्देश्यका साथ यात्रामा जुटेका छौं,’ उनले भने, ‘हामी आजको सोचिरहेका छैनौं। भविष्यका लागि सोचिरहेका छौं। उज्यालो भविष्यको यात्रातर्फ हामीले आफूलाई केन्द्रित गर्न लागिरहेका छौं।’
उनले छोरा र छोरीका बीचमा अर्थात् छोरा भएन भने त मुक्ति पाइन्नँ भन्ने सोचबाट माथि उठ्नुपर्ने पनि उल्लेख गरे।
‘छोरा र छोरीका बीचमा अर्थात् छोरा भएन भने त मुक्ति पाइन्नँ भन्ने साँस्कृतिक मनोदशा हाम्रो पारिवारिक ढाँचामा छ,’ उनले भने, ‘आमाहरू र बाबाहरूमा पनि उत्तिकै छ। समाजलाई समानतातर्फ लैजाने हो भने बैतर्नी तार्ने सामर्थ्य छोराहरूमा मात्रै होइन छोरीहरूमा पनि छ भन्ने सन्देश बोकेर आमाहरू र बाबाहरूले पनि बोकेर जान सक्नुपर्छ। त्यसपछि मात्रै हामीले चाहेको समानताको अधिकार तयार हुन्छ।’