मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तीन दलबीच सहमति भएको छ।
सहमति पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमतका संसदीय दलका नेता महेश प्रसाद यादव र माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद शाहले सहमति पत्रमा संयुक्त हस्ताक्षर गरेका हुन्।
एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले सहमति भएको बताए।
बिहीबार साँझ जनकपुरमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी दलको सहभागितामा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने बताए पनि लोसपा र एकीकृत समाजवादीको सहमति पत्रमा हस्ताक्षर छैन।
‘सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ,’ सहमतिपत्रमा भनिएको छ।
मधेस प्रदेश सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरिएपछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन्।
उनले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन्। एकीकृत समाजवादी अहिले सरकारमै छ। एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन्।
त्यस्तै, एकीकृत समाजवादीकी बेची लुंगेली श्रम तथा यातायात मन्त्री छन्। मधेस प्रदेशमा एकीकृत समाजवादी निर्णायक छ।
१०७ सदस्यीय प्रदेश सभामा जनता समाजवादी पार्टी, नेपालसँग १९ सांसद छन्। कांग्रेसका २२, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ सांसदले समर्थन गर्दा पनि जसपा, नेपालसँग ५६ मत मात्रै हुन्छ। सरकार जोगाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ।
