सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बिना आधार पक्राउ गरिएको बताएका छन्।
बुधबार ललितपुरमा सञ्चारकर्मीहरूसँगको एक अन्तर्क्रियामा उनले सिरोहिया पक्राउको कुनै आधार किन छैन भनेर प्रष्ट पारे।
‘कैलाश सिरोहियासँग मेरो कुनै व्यक्तिगत मित्रता र शत्रुता छैन। तर उहाँको पक्राउबारे मैले जति कुरा बुझेँ त्यसपछि यस्तोमा त बोल्नु पर्छ भन्ने लागेर बोलेको हुँ,’ उनले भने, ‘उनलाई नन इस्युमा पक्राउ गरिएको देखिन्छ।’
यो किन मुद्दा नै होइन भनेर उनले दुई वटा कुरा प्रष्ट्याए।
पहिलो, बुवा घाँसीरामले २००९ सालको कानुन अनुसार नागरिकता लिएको तथ्य भेटिएपछि कैलाश नेपाली नागरिक हो भन्ने कुरामा विवाद नरहेको लालको भनाइ छ।
‘कैलाशका बुवा घाँसीरामले २००९ सालको कानुन बमोजिम नागरिकता लिनुभएको देखिन्छ। उक्त कानुनले अंगीकृत, वंशज वा जन्मसिद्ध नागरिकता भनेर छुट्याउँदैनथ्यो,’ उनले भने, ‘बुवाले नै नेपाली नागरिक भइसकेपछि उनी नागरिक हुन् भन्ने कुरामा विवाद छैन।’
दोस्रो, विवाद केमा छ? जन्ममिति र नागरिकता नम्बरमा छ।
जन्ममितिमा विवाद भए के हेर्ने हो?
‘उहाँले नागरिकतामा भएको उमेर नागरिकता लिएको मितिमा भिडाउँदा मिल्दैन भन्ने एउटा विवाद रहेछ। जस्तो २०१९ मा जन्मेको मान्छेले २०३६ मा नागरिकता लिँदा १८ वर्ष पुग्दैन भन्ने कुरा छ,’ उनले भने, ‘जन्ममितिमा विवाद भए नागरिकता प्राप्त गर्दा उनले भरेको फारम झिकेर हेर्न पर्छ। त्यही कुरा लेखेको छ कि फरक? नागरिकताको प्रमाणपत्रमा उमेर लेख्ने नागरिकताधारीले होइन। त्यसैले उनलाई लगाइएको आरोप नन इस्यु हो।’
नागरिकतामा जन्ममिति फरक परेकै भए पनि त्यो सच्याउन मिल्ने उनले बताए।
‘जन्ममिति फरक परेकै भए पनि यो पक्राउ गरेर थुन्नुपर्ने होइन। त्यो त कानुनले नै सच्याउन सकिने भनेको छ। सच्याउन मिल्छ,’ उनले भने, ‘कि त कुनै लाभ लिन/कसुर गर्नका लागि जन्ममिति बिगारे भन्ने हुनुपर्यो। कि नागरिकता प्रमाणपत्रमा आफै थपेको हुनुपर्यो। नभए त जन्ममिति फरक पर्नु यति ठूलो कसुर नै होइन।’
नागरिकता नम्बर अर्कै व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्ने आरोप पनि नमिलेको उनले बताए।
‘नम्बर अर्कोसँग मिलेको भन्ने कुरा पनि हेरौं। नागरिकतामा नम्बर लेख्ने काम कसको हो? नागरिकताधारीको त होइन! सरकारी कर्मचारीको हो। अनि नागरिकताधारीले गर्नै नसक्ने गल्ती गरेको भन्दै पक्राउ गर्न मिल्यो त?’
त्यसैले नै सिरोहियालाई आधारहीन विषयमा पक्राउ गरिएको हो भन्ने आफूलाई लागेको उनले बताए। कान्तिपुरका अध्यक्ष भएकाले पक्राउ गरिएको हो भन्ने आफूलाई लागेको उनको भनाइ छ।
‘कैलाश सिरोहिया हामी सबैको लागि महत्व राख्न पनि सक्छन् नराख्न पनि सक्छन्। यसमा त्यतिमात्र होइन। उनलाई किन पक्राउ गर्यो? कान्तिपुर मिडियाको अध्यक्ष भएकाले गर्यो। त्यो पनि नन इस्युमा गर्यो,’ उनले भने, ‘कान्तिपुर मेरो मित्र हो? होइन। मेरोविरूद्ध पनि त पटकपटक समाचार लेखेको हो नि कान्तिपुरले। त्यो महत्वपूर्ण होइन।’
आफ्ना लागि अभिव्यक्तिको स्वतन्त्रताले ज्यादा महत्व राख्ने उनको भनाइ छ।
‘फ्रिडम अफ एक्सप्रेसनको महत्व धेरै छ। मान्छेलाई बोल्नेमा प्रतिबन्धित गर्न थाल्यो भने डेमोक्रेसी चल्दै चल्दैन,’ उनले भने।
मुलुकमा सुशासन भएन भने डेमोक्रेसी नचल्ने पनि उनले बताए।
‘डेमोक्रेसी केबल शासन चलाउने तीन वटा अंगले मात्र बनेको हुँदैन। डेमोक्रेसी चल्नको लागि सुशासन जरूरी हुन्छ। सुशासनका लागि सरकार, संसद र अदालतले गरेका कामहरूको आलोचना समालोचना हुँदै गर्नुपर्छ,’ उनले भने।
त्यस्तै कानुनको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पनि उत्तिकै महत्व हुने उनले बताए।
‘कानुन मानेन भने के हुन्छ? राजाको हालत हुन्छ। थिति मानेको भए नेपालमा राजालाई कसैले हटाउन चाहेको थियो,’ उनले भने, ‘कानुन र कानुनको थिति नमानेपछि आफ्नो विरूद्धमा के धारणा छ भन्ने जान्न कोसिस नगरेपछि त्यो आफै जाँदो रहेछ।’
‘आलोचना नहुनु भनेको त जीवन्तता नै नहुनु हो। हामीले काम गरेपछि आलोचना हुन्छ। आलोचनाबाट पावर गेन गर्नुपर्छ। मानौं तपाईं होटलमा हुनुहुन्छ तपाईंले कुनै कुरा नराम्रो लागे भन्दिनुहुन्छ। त्यो सुधारे होटल राम्रो हुन्छ।’
यो सबै कुरा बिर्सेर अहिलेको सरकारले कान्तिपुरका अध्यक्षलाई बिनाकारण पक्राउ गरेको उनको भनाइ छ।
‘कैलाश सिरोहियालाई जसरी पक्राउ गरेको छ त्यसमा व्यक्तिगत रूपले हामीलाई चासो लिनुपर्ने थिएन। तर मिडिया हाउसले पावरफूल मन्त्रीको बारेमा समाचार लेख्यो। लेखेका कारणले उनलाई प्रकाउ गर्नै नपर्ने इस्युमा गर्यो,’ पूर्वन्यायाधीश लालले भने।
मिडियामा आएका समाचार सधैंभरी सही नभए पनि त्यसलाई प्रतिबन्ध लगाउन नहुने उनले बताए।
‘हामीलाई स्वच्छ हावा चाहियो भने झ्याल खोल्छौं। तर त्यहाँबाट सधैं स्वच्छ हावामात्र आउँदैन नि। त्यही पनि हामीले हावाका लागि त झ्याल खोल्नुपर्छ,’ उनले भने, ‘त्यस्तै लोकतन्त्रमा यसलाई बचाइराख्नमा प्रेस स्वतन्त्रताको धेरै महत्व छ।‘
राज्यले कानुन विपरीत काम गर्यो भने नागरिकहरू बोल्नुपर्ने पनि उनले बताए।
‘म पूर्वन्यायाधीश हुँ। अहिले जनताको करबाट पेन्सन पाइरहेको छु। तर यहाँ जनतामाथि नै अन्याय भएको छ भने म बोल्नुपर्छ। जिम्मेवार नागरिकको हैसियतले त बोल्नुपर्यो,’ उनले भने।
आफूलाई पनि कतिपयले यस्तो विषयमा नबोल्नु भनेर सुझाएको उनले बताए।
‘अब मलाई सुझाव दिनेहरूको कुरा सुनेर अहिले म नबोलुँला। तर उनीहरूमाथि केही आइपरे पनि नबोल्नु? त्यसैले म बोल्छु भनेको हुँ। म त जनताको नुन खाएको व्यक्ति हुँ उनीहरूलाई अन्याय हुँदा म बोल्नुपर्छ,’ उनले भने।
उनले नागरिकहरूले आलोचनात्मक दृष्टि राखेर जहिले पनि बोल्नुपर्ने बताए।
‘अदालतमा विचाराधीन छ वा अदालतले हेरिरहेको मुद्दा छ है भनेर पनि कहिलेकाहीँ हामीलाई चुप लाग्न पर्छ भन्ने लाग्ला। त्यसो होइन। अदालतलाई अवरोध नगरी आफ्ना विचार राख्न पाइन्छ,’ उनले भने।
त्यसैले सिरोहियाको पक्राउका सम्बन्धमा आफूले आफ्ना धारणा सार्वजनिक गरेको उनले बताए।
‘त्यसैले पनि म बोलेको हुँ। व्यक्तिगत रूपमा मेरो सम्बन्ध उहाँसँग छैन। तर मेरो घर पनि महोत्तरी धनुषा नै हो। उहाँका बुवालाई जनकपुरले राम्ररी चिन्छ। हामीले पनि सानैदेखि देखेर हुर्केका हौं,’ उनले भने, ‘उहाँ त्यहाँको समाजले चिनेको मान्छे हुनुहुन्थ्यो। नेपाली भएरै काम गर्नुभएको हो। त्यसैले पनि देखेको कुरा भन्नुपर्छ भन्ने मलाई लागेको छ।’