सत्ता साझेदार नेकपा (एमाले) को ६० वटा जिल्लाको अधिवेशन सकिएको छ। १३ वटाको मिति तोक्न बाँकी रहेको एमाले निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार ८ वटा जिल्लाको अधिवेशनको मिति तोकिएर यही महिनाभित्र अधिवेशन सकिनेछ।
जसअनुुसार शुक्रबार र शनिबार मकवानपुर जिल्लाको अधिवेशन हुँदैछ। २० र २१ गते प्यूठानको अधिवेशन हुँदैछ।
२२, २३ र २४ गते नुवाकोट जिल्लाको अधिवेशनको मिति तय भएको छ।
त्यस्तै २३ र २४ गते रूपन्देहीको अधिवेशनको मिति तय भएको सुब्बाले जानकारी दिए।
२६ र २७ गते अर्घाखाँचीको अधिवेशन हुँदैछ। त्यस्तै २६, २७, २८ काठमाडौंको अधिवेशन हुँदैछ।
२८, २९ र ३० गते काभ्रेको अधिवेशन हुँदैछ भने २९ र ३० गते गुल्मी जिल्लाको अधिवेशनको मिति तोकिएको छ।
एमालेले जेठ मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न परिपत्र गरेको थियो। जिल्ला अधिवेशन सकिनासाथ २०८१ को कार्ययोजना सुरू गर्ने एमालेको तयारी छ। नयाँ कार्ययोजनाअनुसार जिल्लाका इन्चार्जहरू परिवर्तन हुनेछन्।
अहिले एमालेले फरक भूगोल कार्यक्षेत्र हुने गरी जिम्मेवारी तोकेको छ। जसअन्तर्गत एउटा जिल्लाको नेता अर्को जिल्लाको इन्चार्ज भएर गएका छन्।
हालसम्म कोशी प्रदेशको इलाम, मोरङ, तेह्रथुमको अधिवेशनको टुंगो लागेको छैन। मधेस प्रदेशअन्तर्गत् धनुषा, सिराहा, सप्तरीको अधिवेशनको मिति तोकिन बाँकी रहेको छ।
सुदूरपश्चिममा अछाम, डोटी र बझाङको अधिवेशनको मिति तय गर्न बाँकी रहेको छ। गण्डकीमा मनाङको अधिवेशनको टुंगो लागेको छैन। कर्णालीमा डोल्पामा अधिवेशनको मिति तोकिन बाँकी रहेको छ। भूगोलबाहेकका विद्यार्थी विशेष र उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अधिवेशनको मिति तय हुन बाँकी रहेको एमालेले जनाएको छ।