नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई उनीहरूका क्षेत्रमा सञ्चालन भइरहेका आयोजनाहरूमा बजेट कटौती भएको छ भने प्रश्न गर्न निर्देशन दिएका छन्।
शनिबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आइतबारदेखि संसदमा सुरू हुने बजेटमाथिको छलफलमा सहभागी भई त्यसका बजेटमा केही कमजोरी छन् भने औंल्याउन भनेका हुन्।
'आफ्नो जिल्ला, क्षेत्र र प्रदेशमा हिजो के कमजोरी थियो सुधार भयो कि भएन वा अझै घटोत्तरी भए कि यस्ता विषयहरूमा स्वाभाविक रूपमा प्रश्न उठाउन सक्नुहुन्छ,' ओलीले भने।
तर त्यसको औचित्य पनि खोज्न आवश्यक हुने ओलीले बताए।
'कुनै नयाँ आयोजनाका लागि विशेष काम गर्दैछौं कि? नयाँ, ठूला र राष्ट्रका लागि अत्यन्त महत्वको आयोजना जसले एउटा रूपान्तरणकारी काम गर्छ। त्यस्ता आयोजना सुरू गर्दैछौं र त्यसमा असाधारण ढंगले ठूलो बजेट छुट्याउन परेकाले कतिपय बजेटको साइज घटाएर वा कतिपय ठाउँको बजेट घटाएर त्यसलाई अन्त सार्नुपर्यो भनिएका छन् कि। त्यो पनि हेर्नुपर्छ,' उनले भने।
ती केही नहुँदा पनि बजेट घटाइएको छ भने कमिकमजोरी औंल्याउनुपर्ने अध्यक्ष ओलीले बताए।
'यदी त्यस्तो छैन र एउटालाई अनुकूल र अर्कालाई प्रतिकूल छ भने कमिकमजोरी भयो पनि भन्नुपर्छ,' उनले भने, 'आफ्नो क्षेत्रमा भइरहेको बजेट कटौती भएको छ भने बजेटको सम्पूर्ण आकार नघटेको स्थितिमा आयोजनाका लागि छुट्याइएको रकम अझ घट्यो भने त्यसको औचित्य केहो?
अध्यक्ष ओलीले बजेटको समर्थन गर्ने र पारित गर्ने पनि बताए।