नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै अर्काको ढोकामा लगेर फोहोर फ्याँक्नु सभ्य काम नभएको बताएका छन्।
शनिबार एक कार्यक्रममा बोल्दै ओलीले यस्तो क्रियाकलाप गलत भएको र एउटा महत्त्वपूर्ण पदमा बसेको मान्छेले यस्तो व्यवहार गर्न नमिल्ने बताएका हुन्।
गलत कामलाई अरूले गलत भन्न सक्नुपर्ने पनि उनले बताए।
'म छक्क पर्छु, कति साह्रो कमजोर प्रवृत्ति भएको होला मान्छेलाई। कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँकिदिन्छ? यो गलत गर्यौ भनेर कसैले भन्न सक्दैन। के हालत होला यो! यो गलत हो, यस्ता क्रियाकलाप हुन हुँदैन। स्वस्थ र सभ्य समाजका लागि असन्तुष्टि, आक्रोश, प्रतिक्रिया केही पनि देखाउने तरिका भनेको मलाई छिमेकीसँग अलिकति चित्त बुझेन, रिस उठ्यो भने घरको फोहोर-सोहोर जम्मा गरेर लगेर उसको ढोकामा फ्याँकिदिने? यो कुनै सभ्यता हो? आज यङ जेनेरेसनले त्यो कुरा भन्न सक्नुपर्दैन!,' उनले भने।
गत जेठ १२ गते चक्रपथ विस्तारको काम ढिलासुस्ती भएको भन्दै मेयर बालेन शाहले सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक ट्रक धूलो र फोहोर फालेका थिए।
त्यही सन्दर्भलाई लिएर ओलीले टिप्पणी गरेका हुन्।
ओलीले थप भने, 'उनीहरूको एउटा मण्डली हुन्छ, त्यो मण्डलीले वाह, जन्मिएछ एउटा बहादुर, क्या बात लेख्छ। अनि अरू चुप लागेर बस्छन्। झोक्राएर बस्छन्। यति पनि भन्न सकिँदैन, यो त सभ्य तरिका भएन! यो आधुनिक सभ्य समाजलाई सुहाउँदो तरिका भएन। एउटा महत्त्वपूर्ण पदमा बसेका मान्छेले गर्न मिल्ने व्यवहार होइन यो। त्यति पनि भन्न सकिँदैन!'
त्यस्तै लाचारीको फाइदा लिएर एउटा एनार्किजमको बोलबाला भइरहेको पनि उनले बताए। हाम्रो समाजलाई एनार्किस्ट होइन, डेमोक्र्याटिक बनाउन खोजेको भन्दै उनले एनार्किजम र डेमोक्रेसीमा धेरै फरक भएको बताए।
'हामी डेमोक्रेसीलाई अगाडि बढाउँछौं, एनार्किजमलाई होइन,' ओलीले भने।
यस्तो व्यवहार पछौटे संस्कार र असभ्य तरिका भएको पनि उनले बताए।
'हामी एउटा सभ्य, लोकतान्त्रिक, न्यायपूर्ण, शान्तिपूर्ण र समृद्ध समाज बनाउन चाहन्छौं,' उनले भने, 'कोही बोल्दैन भने कसले सम्झाउने? भन्ने कोही छैन भने नराम्रै गर्नुपर्ने रहेछ भन्ने लागिरहन्छ। यहाँ त्यस्तै भइरहेको छ। यस्तो कुरामा सम्झाउनुपर्छ। बोल्नुपर्छ। किनभने यो हामीले बाँचिरहेको समाज हो, यो कस्तो हुनुपर्छ भनेर भन्ने हामीलाई अधिकार छ। हामीले भन्नुपर्छ। हाम्रो कर्तव्य र दायित्व हो।'