सत्ता साझेदार दल नेकपा (एमाले) का सांसद दामोदर पौडैल बैरागीले बजेट आर्थिक र भौतिक पूर्वाधार निर्माणमा मात्रै केन्द्रीत भएको बताएका छन्।
संसदमा आइतबारदेखि सुरू भएको बजेटमाथिको छलफलमा सांसद पौडेलले मानवीय विकासका सन्दर्भमा भने अहिलेको बजेटमा पनि कमजोरी देखिएको बताएका हुन्।
'आर्थिक र भौतिक पूर्वाधार निर्माणमा मात्रै केन्द्रीत भएका छौँ। मानवीय विकासका सन्दर्भमा बालबच्चाको संरक्षणको सम्बन्धमा, स्वास्थ्यका सम्बन्धमा ज्येष्ठ नागरिकका सम्बन्धमा कुनै ध्यान गरिएको छैन। अहिले पनि बजेटमा त्यो कमजोरी छ,' उनले भने।
शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र सामान्य नागरिकका पहुँचबाट टाढा हुँदै गएको र यसलाई सुधार गर्नका लागि यसपालिको बजेटले पनि यथेष्ट योजना नभएको सांसद पौडेलले बताए।
'शिक्षा क्षेत्र तहसनहस भइरहेको छ। सामान्य परिवारले उच्च शिक्षा हासिल गर्नबाट धेरै टाढा गइरहेको छ। अस्पताल उपचारहरू जनताका पहुँचबाट धेरै टाढा बनेको छ। सरकारी अस्पताल विस्तार गर्नुपर्ने, रहेका अस्पतालहरूमा बेड, प्राविधिक, प्रविधि, मेसिनहरू विस्तार गर्नुपर्नेछ। बजेट सरसर्ती हेर्दा त्यतातिर ध्यान कम गएको छ,' उनले भने।
पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि राजधानी बन्ने किन नबन्ने भन्न विषयलाई बजेटले नसमेटेको उनले बताए।
'अहिलेको बजेटमा पोखरा पर्यटकको राजधानी बन्छ कि बन्दैन भन्ने प्रश्न उठेको छ,' उनले भने।
सँगसँगै वर्षा सुरू भएकाले यस्तो बेला असिनापानी, बाढी पहिरोले समस्या हुनेभएकाले त्यसको व्यवस्थापनतर्फ पनि ध्यान जानुपर्ने पौडैलले बताए।
अघिल्ला वर्षहरूमा आफू निर्वाचित भएको क्षेत्र कास्की-३ मा धेरै बजेट कटौती गरिएको गुनासो पनि गरे। निर्वाचन क्षेत्र रणनीतिक सडक, पालिका स्तरमा बन्न लागेका हस्पिटलको बजेट लगायत विभिन्न ठूला आयोजनाको बजेट कटौती गरिएको उनले बताए।
बजेटकै अभावले पुष्पलाल मध्यपहाडी लोकमार्गको एक खण्ड हरिचोकदेखि याङ्दीसम्मको बाटो ठेक्कामा जाँदा पनि तीन वर्षसम्म बन्न नसकेको उनले बताए।
यसपालि बजेट आउने सुरूदेखि नै बजेटबारे छलफल गर्नुपर्नेमा संसद अवरूद्ध हुँदा त्यसो हुन नसकेको बताए। बजेटमा मात्रै नभई जनजिविकाका विभिन्न विषयहरूमा पनि छलफल गर्न नपाएको उनले बताए।
'धेरै ठाउँमा आगलागी भए। मानिसहरूको मृत्यु भयो। त्यस्ता विषयहरू हामीले उठाउन पाएनौं। बाटोघाटो बनेका छैनन्। ती विषयहरू पनि उठाउन पाएनौं। वन्यजन्तु र मानवबीचको द्वन्द्व चलिरहेको छ। त्यो विषय पनि उठाउन पाएनौं। धेरै शून्य समय अवरूद्ध भए।सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममाथि बोल्न पाइएन। धेरै विषयहरूमाथि भन्नुपर्ने थियो। त्यो पाइएन।,' सांसद पौडेलले बताए।
संसद कसरी, किन र कसले अवरूद्ध गर्यो भन्नेबारे जनताले राम्ररी बुझेको उनले बताए।संसद अवरूद्ध हुँदा भएका क्रियाकलापले सदनको गरिमा बढायो कि कायम रह्यो त्यसको लेखाजोखा पनि राख्नुपर्ने उनले बताए।
नेकपा एमालेले बजेटलाई समर्थन र पारित गर्ने तर त्यसमा देखिएको कमजोरी उठाउने रणनीति लिएको छ। शनिबार बसेको संसदीय दल बैठकमा दल नेता केपी शर्मा ओलीले बजेटका कमीकमजोरी उठाउन सांसदहरूलाई निर्देशन दिएका थिए।