सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विपक्षी दलहरूको बैठकमा सहभागी भएकोबारे प्रष्टीकरण दिएका छन्।
पार्टीको दसौं महाधिवेशनको सन्दर्भमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले दुइटा नाउमा खुट्टा नराख्ने बताए।
‘मधेस प्रदेशको सरकारमा सहभागी भएको सन्दर्भमा त्यसबाट एउटा टुंगो नलागेसम्म हामी सरकारको अंगकै रूपमा रहेका छौं। बाटामा त्यत्तिकै छाडेर भाग्नेवाला पनि छैनौं। त्यसमा के गर्ने भन्नेमा पनि एउटा बैठकको आयोजना भएको हो,’ उनले भने, ‘एउटा महत्त्वपूर्ण घटक हामी भएको हुनाले हामी बैठकमा सहभागी भयौं।’
सबैले नेताहरूसँग सम्पर्क गर्न पाउने र एकीकृत समाजवादीले पनि पाउने बताए। यसलाई अन्यथा रूपमा कसैले पनि लिनुनपर्ने उनले बताए।
विपक्षी दलको बैठकमा सहभागी भएको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि कुराकानी भएको उनले बताए।
‘कसैले आत्तिनुपर्ने आवश्यकता छैन, त्यसै सिलसिलामा प्रधानमन्त्रीलाई असमझदारी नहोस् भनेर मैले फोन पनि गरेँ,’ उनले भने, ‘उहाँले पनि भन्नुभयो– सम्पर्क, सम्बन्ध सबैसँग राख्नै पर्छ। कमिटमेन्टचाहिँ अन्तिम नगरिदिनुहोला।’
उनले प्रधानमन्त्रीको जवाफलाई सकारात्मक रूपमा लिएको बताए। यद्यपि उनले परिस्थिति धरमर रहेको भन्नचाहिँ छुटाएनन्।
‘ठीकै हो, कुरा त सबैको सुन्नै पर्यो। कतिखेर के हुने हो भन्ने स्थिति थियो। विश्वास र समझदारी भइसकेपछि यसै आधारमा अगाडि बढिन्छ। हामी दुईवटा नाउमा खुट्टा राखेर चल्दैनौं। हामीले पहिलेदेखिको सरकारको निरन्तरतामा सामेल भएको मात्रै हो,’ उनले भने।
उनले मधेस प्रदेश सरकार गठनको सन्दर्भमा अझै कुराकानी भइरहेको बताए।
त्यहाँ नेकपा (एमाले), माओवादी केन्द्र र जनमत पार्टीबीच सरकार गठनको समझदारी भएको छ। तीन दलबीच जनमतको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ।
यद्यपि लोकतान्त्रिक समाजवादी पार्टी अथवा एकीकृत समाजवादी पार्टीको समर्थनबीच जनमतको नेतृत्वमा सरकार बन्न असम्भव छ।
जनता समाजवादी पार्टी, नेपाल संसदीय दलका नेता सरोजकुमार यादवले जेठ २३ गते विश्वासको मत लिँदैछन्।
‘संवाद भइरहेको छ। छलफल चलिरहेको छ। पार्टीहरूको बीचमा संवाद चाहिन्छ। नेताहरूको बीचमा संवाद, विश्वास चाहिन्छ। त्यसैको सन्दर्भमा छलफलको नयाँ सिलसिला चलिरहेको छ। कुराकानी चलिरहेको छ। अन्तिम निर्णय गर्न बाँकी छ। हाम्रो पार्टी संस्थागत ढंगले चल्ने पार्टी हो। बाटाबाटामा हामीले टुंगो लगाउने कुरा हुँदैन। पार्टीको बैठकले तय गर्छ। बूढानीलकण्ठमा मैले शेरबहादुर देउवाजीलाई पनि त्यही भनेँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीजीलाई पनि त्यही भनेँ,’ उनले भने।
जेठ १६ गते अध्यक्ष नेपाल विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता गठबन्धनभित्र तरंग आएको थियो।
‘माधवजी पहिलादेखि नै उता पनि यता पनि जोडिने जस्तो देखिएको त थियो। तर अहिले मेरो बिहान कुरा हुँदा माधवजी यो समीकरण भन्दा बाहिर छैन, हुँदैन भन्ने कुरा क्लियर गर्नुभएको छ,’ प्रधानमन्त्री दाहालले भोलिपल्ट विराटनगरमा भनेका थिए।