कोशी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत हुने भएको छ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले सोमबार अपराह्न चार बजे प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
प्रदेशका आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीका अनुसार आइतबार सम्पन्न मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ।
सरकारले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिरहँदा मुख्य विपक्षी कांग्रेस भने सोमबारको बैठकमा उपस्थित हुने नहुने निश्चित भएको छैन।
कांग्रेस कोशी संसदीय दलले सरकार बारेको विवाद अदालतमा विचाराधीन रहेको भन्दै प्रदेश सभा बैठकमा लगातार अनुपस्थित रहँदै आएको छ। वैशाख ३१ मा सुरु भएको बर्खे अधिवेशनमा हालसम्म तीन वटा बैठक भइसकेका छन्।
‘भोलिको प्रदेश सभामा के गर्ने टुंगो लागेको छैन। भोलि बिहान दलको बैठक छ, त्यसले के गर्ने भन्ने तय गर्नेछ,’ कांग्रेसका एक सांसदले भने।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा यसबारे छलफल गर्न सोमबार विराटनगर आउने कार्यक्रम छ।
मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार गठन प्रक्रियामा असन्तोस जनाउँदै तत्कालीन मुख्यमन्त्री एवं कांग्रेस सांसद केदार कार्की अदालत गएका थिए। सर्वोच्चमा जेठ २३ मा मुद्दाको पेशी तोकिएको छ।