प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मन्त्रिपरिषद पुनर्गठन तयारी गरेका छन्।
गत जेठ ७ गते प्रधानमन्त्रीलाई विश्वास मत दिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई सरकारमा सहभागी गराउने तयारी भएको हो।
प्रधानमन्त्री दाहालनिकट स्रोतका अनुसार नाउपाकी रञ्जिता श्रेष्ठलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्रीले तयारी गरे पनि कहिले मन्त्री नियुक्त गर्ने भन्ने निश्चित भइसकेको छैन।
नाउपा अध्यक्ष श्रेष्ठले पनि आफू मन्त्री बन्ने तयारीमा रहेको बताइन्।
‘सरकारमा जाने कुरा भएको छ, प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिने कुरा गर्नुभएको छ,’ श्रेष्ठले सेतोपाटीसँग भनिन्, ‘तुरून्तै मन्त्री बन्ने कुरा त होइन। प्रधानमन्त्रीले आफ्नो पार्टीको मन्त्री फिर्ता बोलाउनै होला।’
नाउपाबाट प्रतिनिधि सभामा चार जना सांसद छन्।
यसअघि दाहाल नेतृत्वकै सरकारमा श्रेष्ठ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेकी थिइन्।
नेकपा (माओवादी केन्द्र) का संसदीय दल नेता प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसयता प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन तथा गठबन्धन नै परिवर्तनसमेत गरिसकेका छन्।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ गते मन्त्रिपरिषद पुनर्गठन गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई स्वास्थ्य मन्त्री र हसिना खानलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए।