नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुझाव राखेकै कारण सत्तारूढ दलहरूको खटपट सुरू भयो भन्ने कुरा गलत भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुझाव दिएकै कारण नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को बीचमा असन्तुष्टि हुन लागेको भन्ने कुरामा सत्यता नरहेको स्पष्ट पारे।
उनले बजेटमा सत्तापक्षका सांसदहरूले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त हुने बताए।
उनले बजेटप्रति एमालेको आक्रोश, नकारात्मक टिप्पणी र असन्तुष्टि नभइ सुझावहरू मात्रै रहेको बताए।
उनले भने, ‘यो छलफललाई सत्तापक्षका मान्यज्यूहरूले पनि आफ्नो कोणबाट सुझाव दिन उपयुक्त ठान्ने कुरालाई अस्वाभाविक मान्नु भएन। हामीले यो बजेटमा अलिकति छलफल भएको भए हुन्थ्यो भन्ने अपेक्षा हो। तथापि यो बजेट जुन आएको छ, यो बजेटप्रति हाम्रो आक्रोश छैन, नकारात्मक टिप्पणी छैन, असन्तुष्टि, आलोचना छैन। यो बजेटप्रति हाम्रो केही सुझाव छ। छलफल गर्न सकेको भए राम्रो हुन्थ्यो भन्ने हो। राजनीतिक रूपमा हामी यसलाई मतदान गर्नेछौं, सैद्धान्तिक रूपमा समर्थन गर्नेछौं, व्यावहारिक रूपमा यो बजेट बोकेर हिँड्छौं। त्यसैले छलफलको प्रक्रियामा हामी मान्यज्यूलाई आफ्ना कुरा राख्ने कुरामा बिर्को लगाउनुस् भन्दैनौं। खुला ढंगले गर्नुस्। यही सुझाव राखेकै कारणले गर्दा बाहिर सत्तारूढ दलहरूको बीचमा विशेष एमाले र माओवादीकै बीचमा खटपट सुरू भएको भन्ने होइन। मजबुत ढंगबाट यो सरकार अघि बढ्छ।’
उनले बजेटमा एमालेले राजनीतिक रूपमा समर्थन गरेर अघि बढ्ने बताए। —न्युज एजेन्सी नेपाल