गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न प्रदेश सभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न गत शुक्रबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए।
सर्वोच्च अदालतको परमादेश अनुसार जेठ १६ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
यसअघिका मुख्यमन्त्री एमालेका खगराज अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दा ६० सदस्यीय प्रदेश सभाबाट ३० मत मात्र पाएका थिए।
सभामुख कृष्णप्रसाद धितालले तत्कालीन मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेपछि कांग्रेस नेता पाण्डे सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्च अदालतले संविधानको धारा १६८ उपधारा २ अनुसार २ वा २ भन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउने प्रावधान अनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउन नसेको भन्दै सोही धाराको उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।
उक्त उपधारामा २ वा २ भन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन नसकेको अवस्थामा प्रदेश सभामा रहेका सबै भन्दा ठुलो दलका संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संविधानको धारा १६८ उपधारा ४ अनुसार विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत पाएको अवस्थामा सरकारले कामकारबाही अघि बढाउन सक्नेछ भने नपाएको अवस्थामा मुख्यमन्त्री पदमुक्त हुने प्रावधान छ।
मुख्यमन्त्री पाण्डेसँग नेपाली कांग्रेसका २७ जना सांसद छन्। उनले विश्वासको मत पाउन कम्तिमा थप ४ मत आवश्यक पर्छ।
यसका लागि उनले राप्रपाका २, माओवादी चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र मनाङबाट निर्विरोध भएका राजीव गुरुङ ‘दीपक मनाङेको समर्थन खोजेका छन्।
यी चार सांसदले समर्थन गरेको अवस्थामा पाण्डेले विश्वासको मत पाउनेछन्।
राप्रपा गण्डकीका सांसद बिन्दु अधिकारी पहाडीले केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णय पर्खेर बसेको बताइन्। सरकारको पक्षमा मतदान गर्ने वा नगर्ने अध्यक्षको निर्देशनपश्चात थाहा हुने उनले बताइन्।
यता, नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले आज बिहान पार्टीको बैठकले यसबारे निर्णय गर्ने बताएका छन्।
अर्का सांसद दीपक मनाङेले जता ३० जना सांसद पुग्छ, उतै मतदान गर्ने बताउँदै आएका छन्।
गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीको सभामुख र देवकोटासहित ८, राप्रपाका २ र मनाङे गरी ६० जना सांसद छन्।
मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत पाएको खण्डमा भोलि मंगलबार प्रदेश सभामा सरकारको आगामी बर्षको नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेका छन्। मंगलबार नै नीति तथा कार्यक्रम माथि छलफल गरेर पारित गर्ने उनको योजना छ।
प्रदेश सरकारले असार १ गते आगामी आर्थिक बर्षको बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ। विश्वासको मत लिएर मात्र नीति तथा कार्यक्रम र बजेट ल्याउने मुख्यमन्त्री पाण्डेले बताएका छन्।