इनम सापकोटा अडिओबारे छलफल गर्न प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठक राख्न माग गरेका छन्।
समितिका सभापति हरि ढकाललाई समिति सदस्य रहेका नेकपा प्रमुख सचेतक युवराज दुलाल र समिति सदस्य राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले बैठक राख्न माग गर्दै पत्र पठाएका हुन्।
‘प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडिओ कसरी लिक भयो, यससँग जोडिएर प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको फेसबुक स्टाटसका आधार के हुन्? पत्रकार गिरफ्तार हुने र छाडिने तर सरकार आफूलाई थाहा छैन भन्नेलगायत गम्भीर सवालमा गृहमन्त्री र आइजिपीलाई समिति बैठकमा उपस्थित गराएर जबाफ माग्नु र सरकारलाई जबाफदेही बनाउनु राज्य व्यवस्था तथा सुशासन समितिको जिम्मेवारी रहेकोले अविलम्ब बैठक बोलाउन माग गर्दछु,’ दुलालले समिति सभापतिलाई लेखेको पत्रमा उल्लेख छ।
साथै राप्रपा संसदीय दल नेतासमेत रहेका समितिका अर्का सदस्य ज्ञानेन्द्र शाहीले पनि समिति बैठक बोलाउन माग गरेका छन्।
‘आइजिपी र सरकारबीच देखिएको तिक्तता, पत्रकार पक्राउ गरिनु, प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा हिरासतमा रहेका व्यक्तिको मोबाइल हुनु गम्भीर र चिन्ताजनक घटना हुन्,’ शाहीले भनेका छन्, ‘राज्य व्यवस्था तथा सुशासन समितिसँग प्रत्यक्ष सरोकार राख्ने यी विषयमा छलफल र आवश्यक छानबिनका लागि तत्काल बैठक बोलाउन आग्रह गर्दछु।’
समितिको बैठक अन्तिमपटक गत असोज ८ गते बसेको थियो। तर एक महिना बित्दा समेत सभापति ढकालले बैठक राखेका छैनन्।
दुलाल र शाही राज्य व्यवस्था एवं सुशासन समितिको सदस्य छन्। त्यस्तै नेकपाका अध्यक्ष समेत रहेका पूर्व प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपा सभापति रवि लामिछाने, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दलका नेता भीष्मराज आङदेम्बे र नेकपा एमाले दलको उपनेता पद्मा अर्याल पनि उक्त समितिमा छन्।
सांसदहरुले समिति सभापतिसँगै समिति सचिवलाई पनि बैठक बोलाउन माग गरेका छन्। प्रतिनिधि सभाका १० वटा समिति मध्ये ९ वटा समितिमा रास्वपाकै सभापति छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालय राज्य व्यवस्था एवं सुशासन समितिको कार्यक्षेत्रमा पर्दछ। तर समितिको बैठकमा प्रधानमन्त्री शाह अहिलेसम्म सहभागी भएका छैनन्। त्यस्तै गृहमन्त्रीको पनि समिति बैठकमा निकै पातलो उपस्थिती छ।