जनता समाजवादी पार्टी नेपालले आफू रुढीवादी मार्क्सवाद, लेनिनवाद र उदारवादी लोकतन्त्रको विकल्पको शक्ति भएको बताएको छ।
सोमबारबाट सुरू भएको पार्टीको एकता महाधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा उक्त कुरा समेटिएको छ।
‘एक्काइसौं शताब्दी उदारवादी, पुँजीवाद अथवा नवउदारवादी लोकतन्त्र र एकदलीय कम्युनिस्ट शासन प्रणालीको विकल्पमा समाजवादी लोकतान्त्रिक प्रणालीको शताब्दी हुने प्रष्ट भइसकेको यसप्रकार वर्तमानको विश्व परिवेशमा हाम्रो पार्टीले रुढीवादी मार्क्सवादी, लेनिनवादी र उदारवादी लोकतन्त्रको विकल्पमा समाजवादी लोकतन्त्रलाई वैचारिक र सैद्धान्तिक रूपमा अगाडि सारेको छ। वर्तमानको विश्व परिवेशमा यसलाई समुन्नत समाजवादी लोकतन्त्र पनि भन्न सकिन्छ। यसर्थ हामी यो सिद्धान्तकोसही बाटोमा छौं भन्ने कुराको प्रमाण हो,’ राजनीतिक दस्तावेजमा भनिएको छ।
राजनीतिक प्रणाली, अर्थतन्त्रको ढाँचा र वर्ग संरचना दुवै दृष्टिकोणबाट पुँजीवाद र साम्यवाद अभूतपूर्व रूपले वैचारिक तथा नैतिक संकटमा फसेको दस्तावेजमा जिकिर गरिएको छ।
‘१८ औं शताब्दीको प्रथम औद्योगिक क्रान्तिताका प्रारम्भ भएको वैचारिक ध्रुवीकरण चोथो औधोगिक क्रान्ति, डिजिटल र रोबोटिक्स प्रविधिको युगमा आइपुग्दा अर्थहीन सावित भएका छन्। ज्ञान, विज्ञान र प्रविधिले गरेको अभूतपूर्व विकास र उत्पादनमा आएको परिवर्तनसँगै वैचारिक आयामले पनि कोल्टे फेरेको छ,’ प्रतिवेदनमा उल्लेख छ।
उदारवादी लोकतन्त्रको नाममा संगठित भएको पुँजीवादी राज्यहरू र साम्यवादका नाममा स्थापित राज्य केन्द्रित एकदलीय कम्युनिस्ट सत्ताहरू दुवैका शक्ति केन्द्र र धारका सीमा प्रष्ट भइसकेको दस्तावेजमा भनिएको छ।
‘अर्थात् वैचारिक दृष्टिकोणले एकसाथ दुवै प्रणाली उत्तर पुँजीवाद र उत्तर राज्य–समाजवादको युगमा प्रवेश गरिसकेको छ। यो युगको वैचारिक संकटलाई हल गर्न लोकतन्त्र, समानता, सामाजिक न्याय र समाजवादको सोचलाई आधुनिक युगको आवश्यकताअनुरूप नयाँ उचाइमा विकास गर्नुपर्दछ,’ दस्तावेजमा उल्लेख छ।
जसपा नेपालको महाधिवेशन सोमबारबाट सुरू हुँदैछ। तिरहुतिया गाछीमा आज उद्घाटन सत्र हुनेछ। महाधिवेशनले २० पदाधिकारीसहित २०१ सदस्यीय कमिटी निर्वाचित गर्नेछ। अध्यक्षमा यादव आफैं दोहोरिने तयारीमा छन्।