नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सांसद सुरेशकुमार आलेमगरले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बचाउनका लागि संसद विघटन गरेको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नयाँ सत्तासमीकरण बनाएर हिँडिरहेका बेला त्यस्तो कुरा नकोट्याउनु उपयुक्त हुने बताएका हुन्।
‘जे जे भएपनि त्यो सन्दर्भ बिर्सिसकेको अवस्था थियो । त्यो नकोटयाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो तर त्यो विषयमा मैले पनि कुरा राखे । यतिबेला हामी एउटा सहयात्रामा यात्री बनेर हिँडिराखेका छौं । नयाँ समिकरण बनाएर हामी हिँडीरहेका छौं । त्यसैले यी वितेका कुराहरु सायद कसैले पनि आदरणीय नेतागण, हामी जस्ता कार्यकर्ता कसैले पनि नकोट्याईदिए हुन्थ्यो भन्ने मलाई लाग्छ,’ उनले भने।
उनले ओलीको अभिव्यक्ति घरका सदस्यहरूबीच झगडा हुँदा घरमूलीले आफूसमेत भएको साझा घर भत्काइदिएको जस्तो सुनिने बताए।
‘आफ्नो घरमा झगडा भएको छ भने त आफ्नो घरको झगडाको पो मिलाउने होला। त्यो झगडा मिलाएको पो त्यो घरमा बस्ने होला। आफूसमेत बस्ने साझा घर भत्काएर त आफ्नो घर कसरी बन्छ होला,’ उनले भने।
शनिबार काठमाडौंमा एमालेको जिल्ला अधिवेशनको उद्घाटन गर्ने क्रममा ओलीले प्रतिनिधि सभा विघटन नगरेको भए एमाले भन्न नपाउने बताएका थिए।