प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सेवाग्राहीका काम के कारणले रोकिएको हो भन्ने सरकारी कार्यालयले लिखित रूपमै खुलाउनु पर्ने गरी व्यवस्था गरिनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै पौडेलले भने, ‘सेवाग्राहीले लगेको काम सेवा केन्द्रले किन नगरेको हो, काम नभएको कारण खुलाएर सेवा केन्द्रले लिखित रूपमा जबाफ दिने व्यवस्था गरौं।’
पौडेलका अनुसार यस्तो व्यवस्था सबै सरकारी कार्यालयहरूमा गर्न जरूरी छ।
‘सेवाग्राहीका काम कुन कानुन नमिलेका कारण हुन नसकेको हो भन्नेजस्ता लिखित रूपमा जबाफ दिने व्यवस्था गरिनुपर्छ,’ उनले भने।
सरकारी कार्यालयमा पहुँचवालाका मात्र छिटो काम हुने गरेको पनि उनको भनाइ थियो।