राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण दिएको छ।
काभ्रेको धुलिखेलमा तीन दिनसम्म राजनीतिक वृत्तिविकास प्रशिक्षण भएको हो।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले खेल्नुपर्ने भूमिका, सञ्चार तथा सामाजिक सञ्जाल व्यवस्थापन, वृत्तिविकासका पक्ष, विकास, योजना छनौट, बजेट, कानुनी एवं संवैधानिक विषयमा प्रशिक्षण दिइएको हो।
प्रशिक्षण विभागका प्रमुख ध्रुवबहादुर प्रधानले राजनीतिक वृत्तिविकासका लागि र सांसदहरुको क्षमता विकासलाई ध्यान दिएर प्रशिक्षण गरिएको बताए।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मिडियासँगको सम्बन्ध र अन्तर्वाताका बारेमा प्रशिक्षण दिएका थिए।
वरिष्ठ अधिवक्ता एवं संविधानविद भीमार्जुन आचार्यले नेपालको संविधान र संघीयताले पार्ने असरका विषयमा प्रदेश सांसदहरुलाई प्रशिक्षित गरेका थिए।
साथै पार्टीका नेता, सदस्य र सांसदहरुले कसरी सामाजिक सञ्जालको प्रयोग गर्ने भन्ने विषयमा पत्रकार उमेश श्रेष्ठले प्रशिक्षण दिएको राप्रपाले जनाएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देनले सैद्धान्तिक रुपमा राप्रपा संघीयताको विरोधमा रहे पनि यहि संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने पार्टीको नीतिलाई कसरी उपयोग गर्ने र विकास निर्माणमा कसरी सहभागी हुने भन्ने बारेमा सांसदहरुलाई प्रशिक्षण र निर्देशन दिएका थिए।
पार्टीका पूर्वअध्यक्ष एवं निर्देशक समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनीले अर्थ राजनीतिका आयाम र सांसदको भूमिकाबारे प्रशिक्षण दिएका थिए।
नेपाल सरकारका पूर्वसचिव राजीव गौतमले प्रदेश सभा सञ्चालन, विधि निर्माण र सदस्यहरुको भूमिकामा र पूर्वसचिव केवलप्रसाद भण्डारीले समष्टिगत अर्थव्यवस्था र योजना निर्माणको सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा प्रशिक्षण दिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाका मुख्यसचिव समेत रहेका पूर्वसचिव केदारबहादुर अधिकारीले प्रदेशको वित्तीय तथा प्रशासनिक व्यवस्थापनः सम्भावना र चुनौतिका बारेमा प्रशिक्षण दिएका थिए।
प्रशिक्षणमा राप्रपाका तर्फबाट विभिन्न प्रदेशमा प्रतिनिधित्व गर्ने २५ जना सांसद सहभागी थिए।
राप्रपाको सातै प्रदेशमा गरेर २८ जना सांसद रहेका छन्। जसमध्ये २ जना सभामुख र १ जना उपसभामुख पदमा रहेकाले २५ जना सांसद प्रशिक्षार्थीका रुपमा सहभागी भएका थिए।
समापन समारोहमा अध्यक्ष लिङ्देनले जनअपेक्षा अनुरुप योजना छनौट, विकास निर्माणमा सक्रिय हुन सांसदहरुलाई निर्देशन दिए।