बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले स्थापना दिवसमा पुराना पार्टीहरूलाई निम्तो पठाएन।
नेसपा राष्ट्रिय महाधिवेशन आयोजक समितिले बुधबार काठमाडौंमा कार्यक्रम गरेको छ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पुराना दलहरूलाई निम्तो गरिएको छैन।
कार्यक्रममा अध्यक्ष भट्टराईसँगै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह र विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा देखिएका छन्।
साथै नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रेशम चौधरी पनि कार्यक्रममा सहभागी छन्।
कार्यक्रममा लेखक तथा विश्लेषक खगेन्द्र संग्रौला, युग पाठक लगायत पनि उपस्थित छन्।
नेसपाका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले पुराना दलहरूलाई निम्तो नगरिएको बताए। ‘नयाँ शक्तिहरूलाई निम्ता गरिएको हो,’ उनले भने।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा कार्यक्रम भइरहेको छ।