सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीको आइजिपीबाट दान बहादुर कार्कीलाई हटाउने निर्णयबारे पार्टीको पनि निर्देशन रहेको बताएका छन्।
बुधबार सरकारले दानबहादुर कार्कीलाई नेपाल प्रहरीको आइजिपीबाट हटाएर उनको ठाउँमा मनोज केसीलाई नियुक्त गरेको थियो।
कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।
निर्णय सुनाइसकेपछि पत्रकारहरूले सोधेको प्रश्नको जबाफ दिने क्रममा मन्त्री पोखरेलले यसमा पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)को पनि निर्देशन रहेको बताएका हुन्।
‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ। एक किसिमको संवेदनशील विषयमा सरकारले केही गर्न पर्यो भन्ने पार्टीबाट पनि निर्देशन आएको थियो। त्यो भएको हुनाले उहाँको जिम्मेवारी फेरबदल गरिएको हो,’ मन्त्री पोखरेलले भने।
उनले अहिले प्रधानमन्त्रीलाई शान्ति सुरक्षाबारे सल्लाह दिने भनेको पनि संवेदनशील जिम्मा नै रहेको बताए।
सरकारले कार्कीलाई आइजिपीबाट हटाइएको भन्दा पनि उनको जिम्मेवारी मात्रै हेरफेर गरिएको दाबी गरेको छ।
पछिल्लो समय प्रहरीले सञ्चारगृह र पत्रकारमाथि धरपकड गरेपछि कार्कीको चर्को आलोचना भएको थियो।
नेपाल प्रहरीमा कार्की र केसीबीच टकराव चलिरहेको र सरकारले कार्कीलाई हटाउन खोजेको भन्ने समाचारहरू बाहिरिएपछि स्रोत खोज्दै प्रहरीले पत्रकार र सञ्चारगृहमा धरपकड गरेको थियो।
यसअघि रास्वपाकै सांसद खगेन्द्र सुनारले आइजिपीमाथि संसदीय समितिको बैठकमै आइजिपीमाथि निर्वाचन प्रहरीको पोशाकमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए।
संसदीय समितिमा त्यस सम्बन्धमा परेको उजुरी अध्ययन गर्न रास्वपा सांसद मनिष झाको नेतृत्वमा अध्ययन समिति पनि बनाइएको छ।